काठमाडौं- नेपाली क्रिकेट टिमको प्रशिक्षकबाट राजीनामा दिएका उमेश पटवालले आफूले नेपाल क्रिकेट संघ (क्यान)सँगको बेमेलका कारण राजीनामा दिएको कुरा गलत भएको बताएका छन्।
आइसिसी विश्व कप क्रिकेट लिग टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिदेशीय सिरिजको ठीक अघि राजीनामा दिएका उनले सिरिजपछि कुरा गर्दै भने- ‘नेपाल क्रिकेट संघसँग केही बेमेल भएर मैले राजीनामा दिएको भन्ने कुरा सत्य होइन। म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन।’
नेपालले महत्वपूर्ण सिरिज खेल्ने दुई दिनअघि प्रशिक्षक उमेश पटवालले राजीनामा दिएका थिए। जसमा क्यान बेखबर जस्तो थियो। क्यान निलम्बनमा रहेको अवस्थामा राष्ट्रिय खेलकुद परिषद (राखेप) को पहलमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) मार्फत उनी नियुक्त भएका थिए। त्यसैले उनले राजीनामा पनि सिधै आइसिसीमा नै बुझाएका थिए।
गएको जेठमा एक वर्षका लागि राष्ट्रिय टिमको प्रशिक्षकमा नियुक्त भएका पटवालले मासिक ७ हजार अमेरिकी डलर लिने सम्झौता भएको थियो। अहिले तलबमा असन्तुष्ट भएर राजीनामा दिइएका हल्ला चले पनि राजीनामाको खास कारण उनी स्वयमले पनि खुलस्त रुपमा बताएनन्।
‘नेपाली टिममा रहँदाको अनुभव राम्रो रह्यो। नेपाली टिमबाट राजीनामा दिएर छिटै जानुमा अरु त्यस्तो कारण केही पनि छैन। म अरु नै केही कुराको खोजीमा छु’ उनले भने।
पटवाल प्रशिक्षकका रुपमा रहेको नेपालको अन्तिम सिरिज सुखद नै देखियो। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको त्रिदेशीय सिरिजको पहिलो खेलमा ओमानसँग १८ रनले हारेको नेपालले दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। तेस्रो खेलमा ओमानसँग ८ विकेटले हारेको नेपालले अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले नै हराएको हो।
नेपाली क्रिकेट कुनै बेला निकै राम्रो देखिने र कुनै बेला निकै खराब हुने गरेको भन्दै उनले अझै सुधार गर्नुपर्ने निकै विषय रहेको बताए।
प्रशिक्षक पटवालको भनाइ उनकै शब्दमा...
नेपाली टिममा रहँदाको अनुभव राम्रो रह्यो। नेपाली टिमबाट राजीनामा दिएर छिटै जानुमा अरु त्यस्तो कारण केही पनि छैन। म अरु नै केही कुराको खोजीमा छु।
कप्तान पारस खड्काबाट अहिले ज्ञानेन्द्र मल्लसम्म आइपुग्दा सबैसँग राम्रो नै भइरहेको छ। नेपाल क्रिकेट संघसँग केही बेमेल भएर भन्ने कुरा सत्य होइन। म उनीहरुसँग केही कुराकानीमा नै छैन भने सम्बन्ध राम्रो हुने या नराम्रो हुने भन्ने कुरै आउँदैन।
राष्ट्रिय टिममा मेरो उपस्थिति कस्तो रह्यो भन्ने कुरा मैले नै भन्दा पनि तपाइँहरुले भनिदिनुभयो भने केही गलत कुरा मैले सुधार गर्न सक्छु जस्तो लाग्छ। मेरो प्रशिक्षणमा टिम रहँदा केही खेलाडीहरुको विश्व कीर्तिमानले पनि केही कुरा त बताउँछ जस्तो लाग्छ।
नेपाल क्रिकेट टिम अहिले नयाँ जन्मिएको शिशु जस्तो नै हो। अगाडि बढ्न धेरै बाँकी छ। केही खेललाई हेरेर राम्रो गरेको या नराम्रो गरेको भनेर भन्न मिल्दैन। अहिले लिग टु मा अगाडि रहेको टिमलाई नै हराउन सकेका छौँ। त्यो राम्रो संकेत हो।
कुनै खेलमा असाध्यै राम्रो देखिन्छ भने कुनै खेलमा असाध्यै नराम्रो पनि भइरहेको छ। नेपाली टिमले राम्रो सुधार गरेर जानुपर्ने छ। राम्रोलाई अझ राम्रो गर्ने र नराम्रो कुरामा निराश नभई सुधार गर्नुपर्ने हुन्छ। त्यसका लागि राम्रो टिमहरुसँग धेरैभन्दा धेरै खेल खेल्नु नै राम्रो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।