काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानले सबै खेलमा जित हात पारेको छ।
२७७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अमेरिकाले ३९.१ ओभरमा सबै विकेटको क्षतिमा १८४ रन मात्रै बनाएपछि ओमानले ९२ रनको फराकिलो जित हात पारेको हो। यो जितसँगै ओमानले ४ खेलमा सबै खेल जितेको हो।
निसर्ग पटेलले ५२ र आरोन जोन्सले अविजित ४७ रन बनाएपनि अमेरिकालाई हारबाट बचाउन सकेनन्। बलिङतर्फ अकिब इलियास र बिलाल खानले समान ३–३ विकेट लिदा कप्तान जिसान मकसोदले २ विकेट लिए।
यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २७६ रन बनाएपछि अमेरिकाले ठूलो लक्ष्य पाएको थियो। ओमनका कप्तान जिसान मकसोद र अकिब इलियासले उत्कृष्ट प्रदर्शन गर्दै उकासेका हुन्।
तेस्रो विकेटका लागि अकिबसँग मिलेर २१६ रनको विशाल साँझेदारी गरेका कप्तान जिसानले शतकसहित १ सय ९ रन बनाएर आउट भए। उनले १ सय ९ बलमा १० चौका र ४ छक्का प्रहार गरे। त्यस्तै, अकिब इलियासले त्रिवि क्रिकेट मैदानमा लगातार दोस्रो शतक बनाए। यसअघि नेपालविरुद्ध सतकसहित अविजित १ सय ९ रन बनाएका अकिबले अमेरिकाविरुद्ध पनि १०५ रन बनाए।
यो सिरिजमा अमेरिकासँगको आफ्नो अन्तिम तथा चौथो खेलमा जित हात पार्दै ओमानले ८ अंक बटुल्न सफल भयो। यसअघि अमेरिकासँगको पहिलो खेलमा ओमानले ६ विकेटको जित हात पारेको थियो। ओमानले नेपालविरुद्धको पनि पहिलो खेल १८ रनले र दोस्रो खेल ८ विकेटले जितेको थियो।
यो सिरिजमा ८ अंक बटुलेसँगै ओमानको लिग–टु मा १० खेलबाट ८ खेलमा जित र २ खेलमा हार बटुल्दै १६ अंक बनाएको छ। दोस्रो स्थानमा रहेको अमेरिकाले ११ खेलबाट ६ खेलमा जित र ५ खेलमा हार ब्यहोर्दै १२ अंक बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।