काठमाडौं- सहिद स्मारक ए डिभिजन लिग फुटबलमा सरस्वती युथ क्लब एक खेल अघि नै रेलिगेसनमा परेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा च्यासल युथ क्लबसँग २–१ गोलअन्तरले पराजित हुँदै सरस्वती बि डिभिजन लिगमा घटुवा भएको हो। च्यासलको जितमा टाइगा नाकामुरा र हायाटो वाकिनोले गोल गरे। यता, सरस्वतीका लागि कजिम बुसारीले गोल गरेका थिए।
खेलको १८औं मिनेटमा नै टाइगाले गोल गर्दै च्यासललाई १–० गोलको अग्रता दिलाए। खेलको ६६औं मिनेटमा च्यासलका लागि हायाटोले गोल गर्दै २–० गोलमा पुर्याए। खेलको अतिरिक्त समयमा कजिमले गोल गर्दै सरस्वतीलाई २–१ गोलको स्थितिमा ल्याएपनि च्यासलविरुद्ध हारबाट जोगाउन भने सकेनन्।
यो हारसँगै सरस्वती क्लब १ खेल बाँकी रहँदा नै बि डिभिजनमा घटुवा भएको हो। १२ खेल खेलेको सरस्वतीको १ खेलमा जित, १ खेलमा बराबरी र १० खेलमा हारसहित ४ अंक छ।
सरस्वतीले ए डिभिजनमा रहिरहनका लागि च्यासललाई पराजित गर्नै पर्ने हुन्थ्यो। त्यस्तै, अन्तिम खेलमा संकटा क्लबलाई पराजित गरेको भए मात्रै सरस्वती क्लबको ए डिभिजन लिगमा रहने मौका हुन सक्थ्यो।
सरस्वती बि डिभिजनमा घटुवा भएसँगै लिगको पुछारदेखि दोस्रो स्थानमा रहेको एपिएफ र तेस्रो स्थानमा रहेको ब्रिगेड ब्वाइज क्लब (बिबिसी) लाई भने फाइदा पुगेको छ। अर्थात बि डिभिजनमा घटुवा हुने डरबाट एपिएफ र बिबिसी मुक्त भएका छन्।
एपीएफको १२ खेलबाट २ खेलमा जित, २ खेलमा बराबरी र ८ खेलमा हारसहित ८ अंक छ। बिबिसीको ११ खेलबाट २ खेलमा जित, २ खेलमा बराबरी र ८ खेलमा हारसहित ८ अंक नै छ।
लिगको शीर्ष स्थानमा भने आर्मी छ। आर्मीको ११ खेलबाट २६ अंक हुँदा दोस्रो स्थानमा रहेको मछिन्द्र क्लबको ११ खेलबाट २५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।