काठमाडौं- आइसिसी विश्वकप क्रिकेट लिग–टु अन्तर्गत त्रिदेशीय सिरिजमा ओमानविरुद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले पहिलो विकेटको रुपमा सुवास खकुरेललाई गुमाएको हो। सुवास २२ रनमा आउट भए।
आज नेपालले निकै राम्रो सुरुवात गरेको छ। पहिलो विकेटका लागि कप्तान ज्ञानेन्द्र मल्ल र सुवासले ४८ रनको साँझेदारी गरे। सुवास १४.१ ओभरमा मोहम्मद नदिमको बलमा एल्बिडब्लु आउट भए।
१५ ओभरको समाप्तिमा नेपालको १ विकेटको क्षतिमा ४८ रन भएको छ।
यसअघि बुधबार भएको पहिलो खेलमा नेपाल ओमानसँग १८ रनले पराजित भएको थियो। ओमानले भने लगातार दुई खेलमा जित हात पार्ने क्रममा अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो। नेपालका लागि कमलसिंह ऐरीले टिममा डेब्यु गरेका छन्। उनले अविनाष बोहराको स्थानमा टिममा पहिलो पटक मौका पाएका हुन्।
टिममा कप्तान ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, पारस खड्का, सुवास खकुरेल, सन्दीप लामिछाने, सुशन भारी, करण केसी, कमलसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख र कुशल मल्ल रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।