काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबार दिउँसो ३ बजे मछिन्द्र क्लब र नेपाल पुलिस क्लब खेल्दैछन्। दशरथ रंगशालामा हुने आठौँ चरणको खेलले मछिन्द्रलाई लिगको शीर्ष स्थानको संघर्षमा सहयोग गर्नेछ।
सोमबार च्यासल युथ क्लबलाई ३–० ले हराउँदै आर्मी क्लब ७ खेलमा १६ अंकसहित शीर्ष स्थानमा रहेको थियो। दोस्रो स्थानमा रहेको मछिन्द्रले पुलिस क्लबलाई हराउन सके ८ खेलमा १६ अंक नै हुनेछ।
पाँचौ चरणमा मनाङसँग २–२ गोलको बराबरीपछि झडप हुँदा दुई खेलको प्रतिबन्धमा परेका मछिन्द्रका डिफेन्डर देवेन्द्र तामाङ, विजय धिमाल र फरवार्ड दीपक राई पुलिसविरुद्धको खेलबाट फर्कंदै छन्।
मनाङसँगको खेलपछि मछिन्द्रले जावलाखेललाई १–० ले हराएको थियो भने हिमालयन शेर्पासँग २–० ले हारेको थियो। हिमालयन शेर्पासँगको हार मछिन्द्रका लागि कठीन परिरहेको छ।
नेपाल पुलिस क्लबको अहिले ७ खेलमा ११ अंक छ। यदि पुलिसले मछिन्द्रलाई हराएमा १४ अंकसहित अंक तालिकाको दोस्रो स्थानमा पुग्नेछ। अहिले छैठौँ स्थानमा रहेको पुलिसले जारी लिगमा सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन।
लिगमा अहिले तेस्रो स्थानमा रहेको मनाङ मर्स्याङ्दी क्लबको पनि १३ अंक नै रहेकाले आठौँ चरणका खेलको महत्व बढेको छ। लिग विजेताको अनुमान कठिन बनिरहँदा बुधबार पुलिससँगको हार या बराबरीले पनि मछिन्द्रलाई धक्का लाग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।