राष्ट्रिय भलिबल : महिलातर्फ सेमिफाइनल पुगे एपिएफ र आर्मी 

नेपाल लाइभ | २०७६ माघ ५ आइतबार | Sunday, January 19, 2020 १६:४२:०० मा प्रकाशित

काठमाडौं- नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबिबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा आइतबार सशस्त्र प्रहरीको एपिएफ र नेपाल आर्मी क्लब महिलातर्फ सेमिफाइनलमा पुगेका छन्।

एपिएफले समूह ‘ए’ को खेलमा भरतपुर मेट्रो खेलकुद परिषद् (बिएमसी)लाई ३-० ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको हो। एपिएफले बिएमसीलाई २५-११, २५-१२ र २५-१६ ले पराजित गरेको थियो। 

एपिएफको ६ अंक भएको छ। यसअघि एपिएफले जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी)लाई पराजित गर्दै ३ अंक जोडेको थियो। 

यस्तै आर्मी क्बलले पनि सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ। आर्मीलेले जेभिसीलाई २५–११, २५–५, २५-११ ले पराजित गर्दै ६ अंक बनाउन सफल भएको हो। आर्मीले शनिबार बिएमसीलाई पराजित गर्दै ३ अंक बटुलेको थियो। समूह विजेता र उपविजेताको टुङ्गो भने एपिएफ र आर्मीबीचको प्रतिस्पर्धाबाट हुनेछ।

दशरथ रङ्गशालाको कभर्डहलमा जारी च्याम्पियनसिपमा हेल्प नेपाल स्पोर्टस् क्लब ग्रुप ‘डी’मा पहिलो जित निकाल्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। हेल्प नेपाल स्पोर्टस् क्लब (एचएनसी)ले पहिलो जित निकाल्ने क्रममा बुद्धटोल युवा भलिबल क्लब (बिवाईसी) लाई २५-१०, २५-१५, २५-११ ले पराजित गरेको हो। 

समूहमा दुई टिम मात्र भएकोले पहिलो जितमा नै हेल्प नेपाल क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो। हारका बावजुद बिवाइसी पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनल प्रवेश गर्न सफल भएको छ।