च्यासल र एपिएफबीचको खेल बराबरी

नेपाल लाइभ | २०७६ पौष २८ सोमबार | Monday, January 13, 2020 १६:५६:०० मा प्रकाशित

काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले गोलरहित बराबरी खेलेका छन्।

सोमबार दशरथ रंगशालामा भएको दोस्रो खेलमा दुवै टिमले केही अवसरहरु खेर फाल्दा गोलरहित बराबरी भएको हो।

च्यासलले ६६ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि पोस्टमा बल प्रहार भने एपिएफको राम्रो देखिएको थियो। तर पनि गोल भने हुन सकेन। 

अंक तालिकामा च्यासल १०औँ स्थानमा छ भने एपिएफ ११औँ  स्थानमा छ। च्यासलले ६ खेलमा १ जित २ हार र ३ बराबरीसहित ६ अंक बनाएको छ। ६ खेलमा नै १ जित ३ हार र २ बराबरी गरेको एपिएफको ५ अंक छ। 

सोमबार नै भएको पहिलो खेलमा न्यू रोड टिम (एनआरटी)ले नेपाल पुलिस क्लबलाई १–० ले हराएको थियो।