गत मंसिर २८ गते बिहान मन्दिर दर्शन गरेर फर्किरहेकी गोर्खाकी लिला देवकोटालाई बुढानिलकण्ठमा पृथ्वी मल्लले चलाएको कारले ठक्कर दिएको थियो।
रातभर ठमेलमा मदिरा सेवन गरेका २१ वर्षीय मल्ल बिहानीपख शिवपुरी पुगेर फर्कनेक्रममा उनले चलाएको निजी कारले अनियन्त्रित भई देवकोटालाई ठक्कर दिएको थियो। देवकोटालाई तत्कालै अस्पताल पुर्याइए पनि ज्यान भने जोगिन सकेन।
बुधबार कार चालक मल्ल कारागार चलान भएका छन्।
सोही कारमा सवार थिइन् मोडल परमिता राणा। जसलाई सोही घटनामा आधारित विभिन्न आरोपहरू लागेका थिए। सोही दिनलाई मध्यनजर गर्दै आफ्नो फेसबुकमा उनले त्यो दिनको विस्तृत घटनाको बारेमा अङ्ग्रेजी भाषामा एक लामो स्टाटस पोस्ट गरेकी छन्। बाँकी उनकै शब्दमा:
आज‚ मभित्र बाकी रहेको सबै हिम्मत जुटाएर गत मंसिर २८ गते शनिबार बिहान भएको घटनाको वास्तविकता सबैलाई भन्ने निर्णयमा पुगेँ। प्रथमतः म सबैसामु माफी माग्न चाहन्छु र यस घटनालाई लिएर म कतिसम्म दुःखी छु भन्ने कुरा पनि सबै सामु पुर्याउन चाहन्छु।
४ जनाको अविवेकीपूर्ण निर्णयले एउटा निर्दोष व्यक्तिले ज्यान गुमाउनु पर्यो। म चाहन्छु‚ यो साँचो नभइदियोस्‚ एउटा नराम्रो सपना भइदियोस् तर म पनि त्यही कारभित्र थिएँ। घटना घटेको यतिका दिनपछि मैले यसरी लखेकोमा म हृदयदेखि नै माफी माग्न चाहन्छु। त्यो दुर्भाग्यवश घटेको घटनाले मलाई अझै पनि आघात पुर्याएको छ। ४ सन्तानले आफ्नी आमा गुमाएका छन्‚ श्रीमान्ले आफ्नी अर्धाङ्गिनी गुमाएका छन्।
उक्त घटनाले मेरो जिन्दगीमा एउटा ठूलो परिवर्तन ल्याएको छ। म प्रत्येक दिनको बिहान कस्तो मनस्थिति लिएर उठिरहेको हुन्छु भन्ने कुरा सायद कसैले पनि अनुभव गर्न सक्दैन। अझै पनि त्यो घटना सम्झिँदा मेरो मन चिरिएर आउँछ। अब म कदापि त्यो व्यक्ति हुन्न जुन म त्यो दिन थिएँ। म आज उक्त घटनामा मृत्यु भएकी आमाप्रति मानिसहरूको संवेदनालाई बुझेर यहाँसम्म आएकी छु।
सवारी चलाउँदा मद्यपान गर्नु विकल्प होइन‚ बरु यस्ता घटनामा पीडितको रक्षा गर्नु सबैको कर्तव्य हो। म यो घटनाको बारेमा भारी मन लिएर केही लेख्दैछु। कसैका कारणले एक निर्दोष व्यक्तिले आफ्नो ज्यान गुमाउनुको पीडा सम्झेर म पलपल मरिरहेकी हुन्छु। र‚ म यो पीडा जिन्दगीभरि भोगी नै रहनेछु।
मलाई व्यक्तिगत रुपमा चिन्नेहरूलाई थाहा छ कि मैले अहिलेसम्म एउटा झिंगासम्म पनि मारेको छैन। कारुणता भनेको विश्वको सर्वोत्कृष्ट चिज हो भन्ने समाजमा हुर्किएँ। तपाईंहरूमध्ये कतिलाई थाहा नहुन सक्छ‚ जब म २ वर्षको थिएँ‚ मेरो बुबाको कार दुर्घटनामा मृत्यु भएको थियो। म सधैं यही पीडामा बाँचिरहेको हुन्छु। मलाई मेरी आमाले हुर्काएकी थिइन्। परिवारको कुनै सदस्य आफूसँग नहुँदाको पीडा मलाई राम्रोसँग थाहा छ। म मेरो बुबालाई सम्झेर धेरैपटक रोएको छु।
मैले आफूलाई त्यो विषयमा कहिले पनि सम्हाल्न सकिनँ। मेरी आमाले आफ्नो परिवारको लागि गरेको दुःख देखेर मलाई पनि आमाजस्तै बनौं भन्ने सोच सानैदेखि आइरह्यो। मैले जिन्दगीभरि नै आफूलाई सम्हाल्ने कोसिस गरिरहेँ। तर‚ म पनि एउटा मान्छे थिएँ‚ समाजमा मेरो जस्तोसुकै प्रतिष्ठा भए पनि डर त मलाई पनि लाग्छ।
पीडित महिला जोसुकै हुन्थिन्‚ चाहे मेरो प्रिय व्यक्ति‚ चाहे म नै भएको भए पनि यसले मलाई ‘मैले किन उसलाई पिएर गाडी चलाउन हुँदैन भनेर सम्झाउन सकिनँ’ भनेर हरपल झस्काइरहन्छ।
मानिसहरूले मप्रति देखाएको रिस र घृणालाई म बिल्कुल महशुस गर्न सक्छु। तर म पनि त तपाईंहरू जस्तै एउटा मान्छे नै त हुँ। मलाई थाहा छ‚ मैले ठूलो गल्ती गरेको छु जसले मलाई हरक्षण झस्काइरहनेछ। कसैप्रति आरोप‚ प्रत्यारोपको भाषा बोलेर मृतक र उसको परिवारले न्याय पाउने भन्ने पनि होइन।
हो‚ म त्यो बेला डराइएकी थिएँ‚ स्तब्ध भएको थिएँ। त्यो समयमा के गर्ने भन्नेबारे पनि मैले केही सोच्नै सकिरहेको थिइनँ। म त्यस बखत शुन्य भएको थिएँ‚ कान एकनासले बजिरहेको थियो। म अझै भयभित‚ स्तब्ध थिएँ। हलचल गर्ने स्थितिमा थिइनँ।
उक्त घटना घट्दा पनि म कारबाट बाहिर निस्किएको थिइनँ। त्यसैबीच मेरो एकजना साथीले मेरो अवस्था बुझ्यो र मेरो हात समाएर मलाई कारबाट घचेट्यो र ‘जाऊ‚ गइहाल’ भन्दै चिच्याउन थाल्यो। म भयभित त्यहाँबाट निस्केर घटना भएको ठाउँनजिकै बसेर के गर्ने/के नगर्नेको अवस्थामा बसिरहेँ। एकजना महिलालाई हामी चढेको कारले ठक्कर दिएको छ भन्ने बारेमा पनि म अनभिज्ञ थिएँ। जब थाहा पाएँ तब मैले फोनमा रिचार्ज गरें र मैले आफ्ना ठानेका सबैलाई फोन गरें‚ तर कसैले फोन उठाएनन्। म त्यहीँ बसिरहेँ।
मेरो दिमागले काम गरिरहेको थिएन। एकछिनपछि म भएको ठाउँमा त्यहाँका केही स्थानीयबासी आएर म उक्त कारभित्र भए नभएको बारेमा जान्न खोज्दा मैले म कारभित्रै थिएँ भनेको थिएँ। त्यो बेला म जस्तोसुकै परिस्थितिको सामना गर्न पनि तयार थिएँ। त्यसबेला म चिच्याएर रोएको थिएँ।
त्यही बेला कोही स्थानीयले मोटरसाइकलमा मेरो अगाडि आएर त्यो ठाउँ मेरा लागि सुरक्षित नभएको र त्यहाँ जे पनि हुन सक्ने भनेपछि म झन् आत्तिएकी थिएँ। त्यो बेला मैले केही सोचेको थिएँ भने त्यो मेरी आमा हुनुहुन्थ्यो‚ जो मेरै लागि बाँचेकी थिइन्। उनीमाथि के घट्थ्यो होला? उनले जिन्दगीभरि मेरा लागि गरेको समर्पणको के हुन्थ्यो होला? केही समयपछि त्यही मान्छे फेरि ट्याक्सीमा आयो। घर पुगेर मैले मेरो अर्को साथीलाई फोन गरेँ। उसले ठक्कर खाएकी महिलालाई अस्पताल लगिएको र उनीहरूलाई प्रहरीले लगेको जानकारी दियो।
त्यसपछि मैले वकिललाई फोन लगाएँ। उनले सबै सामाजिक सञ्जालहरू फोनबाट हटाउन आग्रह गर्नुभयो। म दिनरात रोएँ। त्यसपछि उनले मलाई आएका सबै नराम्रा कमेन्टहरूलाई ब्लक गर्न भन्नुभयो। मैले त्यसै गरें। जे भयो नराम्रो भयो र अविस्मरणीय भयो।
त्यो गाडीमा चढेर घर आउन म किन राजी भएँ भनेर आफैंले आफैंलाई धिकार्न थालेँ। कार चलाउने व्यक्ति मेरो नजिकको साथी थियो। ऊ असल बोली‚ व्यवहार भएको मान्छे थियो। त्यो बेला पनि उसले राम्रैसँग ब्रेकफास्टका लागि जान आग्रह गर्यो। मलाई पनि भोक लागिरहेको थियो त्यसैले मैले पनि जाने कुरामा सहमति जनाएँ।
यदि मलाई यस्तो हुन्छ भन्ने थाहा हुन्थ्यो भने म सँधैझैं कुनै एउटा ट्याक्सी बोलाएर घर गएर सुत्ने थिएँ। तपाईंहरूमध्ये धेरैलाई थाहा छ कि मलाई गीतहरू ठूलो साउन्ड बनाएर सुन्न मन पर्छ। यो मेरो एकप्रकारको उपचार हो। डिप्रेसनको शिकार हुनु सामान्य विषय होइन। हरेकपटक जब म सामाजिक सञ्जाल खोल्थें तब मैले मेरो जिन्दगीलाई नै त्याग्दिने बारेमात्र सोच्थें।
म फेरि आत्महत्या गर्ने अवस्थामा पुगिसकेको थिएँ। यदि मैले आक्रामक रुपमा कसैलाई चोट पुर्याएको भए‚ म हृदयदेखि नै माफी माग्न चाहन्छु। म शान्त बसेको बेला मलाई अन्यथा सोचेर नकारात्मक धारणा बनाउनु पक्कैपनि उचित होइन। म तपाईंको मप्रतिको रीस‚ आवेगलाई महशुस गर्न सक्छु। तर‚ गलत आरोप र चरित्र हत्यालाई म कदापि स्वीकार्न सक्दिनँ। तर म मेरो गल्तीलाई स्वीकार्छु‚ जसमा म पूर्ण रुपमा जिम्मेवार छु। यदि मैले तपाईंहरुलाई कुनै चोट पुर्याएको भए हृदयदेखि नै माफि माग्न चाहन्छु।
मलाई थाहा छ‚ घटना घटेको दुई दिनपछि म फेसन शोमा जाँदा तपाईंहरू धेरैलाई चित्त बुझेको छैन। तर‚ मैले वचन दिसकेकाले मैले उक्त शोलाई इन्कार गर्न सकिनँ। त्यही कारमा गएर बस्नु मेरो इच्छा थियो। तर‚ त्यो घटना छोडेर हिँड्नु मेरो इच्छा थिएन।
बाहिर देख्दा ठाडो शीर बनाएर हिँडे पनि त्यो दिन भित्रभित्र म मरिरहेको थिएँ। यो कारण हरदिन मलाई पश्चातापले पिरोलिरहनेछ कि म यो दुर्घटनाको एक हिस्सा थिएँ। मैले कहालीलाग्दो घटनाबाट मेरो जीवनको पाठ सिकें। यदि नाइटआउटपछि बिहान कोही गाडी चलाउनुहुन्छ भने म बिन्ती गर्छु कि यस्तो कदापि नगर्नुस्।
जुनैबेला पनि मलाई घटेको घटना तपाईंलाई नघट्ला भन्न सकिँदैन। मैले कहिले पनि अरूको मूल्यांकन गरिनँ‚ सधैं क्षमाशील नै भइरहेँ। त्यो बेला जे भयो गलत भयो र यसले मलाई हरक्षण पिरोलिरहन्छ। विशेषतः म लीला देवकोटाको आत्माले चीर शान्तिको पाओस् भन्ने कामना चाहन्छु। उनको मृत्युले सबैभन्दा बढी चोट पुगेका परिवारसँग माफी माग्न चाहन्छु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।