कविता : प्रेसर कुकरको सिट्ठी

विश्व सिग्देल | २०७६ पौष १९ शनिबार | Saturday, January 04, 2020 ११:५३:०० मा प्रकाशित

गर्भमा जम्मा पारेर
पर्याप्त जीवनको बीज
आगोको लप्काको समागम
भान्साकोठा दिन जन्मेको सङ्केत गर्नेछ
रेलको सिठ्ठीझैं, कारखानाको साइरनझैं
लाठीचार्ज हुनुअघि भीड सामु बज्ने हुँकार
र निहत्थाको पुकारझैं
एकतमास बज्नेछ, बजिरहनेछ
मेरा भान्छामा केही दिन
प्रेसर कुकरको सिट्ठी

आँखा चिम्लनु मात्र मैले पर्दछ
जो खुलेका थिए अर्द्धमुद्रित
ध्यानले हैन– ज्ञानले
पूरै आँखा खोलेर सुखी बाँच्न असम्भव
ती आँखा चिम्लनु मात्र मैले पर्दछ

म जहाँ पुगेर हराउनेछु
बिलाउनेछन् औंलाका शङ्ख–चक्र
त्यसको ठीक २४ घण्टा पनि नबित्दै
रेलको सिट्ठीझैं कारखानाको साइरनझैं
बज्न थाल्नेछ केही दिनलाई
मेरा भान्साकोठामा
प्रेसर कुकरको सिट्ठी

जिविस, जिप्रकाले निमेषमै
समन्वय गर्नेछन्
गाउँपालिकाका सचिवले
एकछिन अवकास पाउने छैनन्
तत्काल सहयोगको पहिलो किस्ता
रू २५ हजार
हस्तान्तरण गरेको फोटो
छाप्नेछ छापाले

इराक, अफगानिस्तान, अरबको खाडी
वा ती सूदूर देशका कुनाकाप्चा
जहाँ बारुदभन्दा संवेदनशील समय
अजिङ्गर बनेर लम्पसार छ
त्यहाँ विलाएपछि मात्र म
बल्नेछ चुलो, पाक्नेछ भात-तिहुन
केही दिन
मानौं कुरिरहेथ्यो भान्साको प्रेसर कुकर
वा देश,
मेरो मृत्युको खबर!

बाँच्दा निदाइरहे पनि
मर्दा थोरै चलमलाउने छ सरकार
देश चलेको निमेषभर भए पनि
अनुभूति हुनेछ मेरा देशवासीलाई!

सरकार
ढुक्क सुत सरकार
भान्छाको प्रेसर कुकर
बम बन्ने सम्भावना केही दिनलाई पर सरेको छ

गर्भमा जम्मा पारेर
मेरो मृत्युको कुल आम्दानी
रेलको सिट्ठीझैं, कारखानाको साइरनझैँ
बज्नेछ केही दिनलाई मेरो भान्छामा
प्रेसर कुकरको सिट्ठी!
०००