काठमाडौं- तिर्खा लाग्यो भने हामी पानी पिउँछौं। यदि शरीरमा पानीको कमी भयो भने रगतमा पनि पानीको कमी हुन्छ र कोशिकाले मष्तिष्कमा ‘पानी चाहियो’ भन्ने संकेत पठाउँछ। अनि हामीलाई तिर्खा लागेको अनुभूति हुन्छ। पानी पिएपछि सन्तुष्टि प्राप्त हुन्छ। पिएको पानी पेटबाट रगतसम्म पुग्न १० देखि १५ मिनेटसम्म लाग्छ। कहिलेकाहीँ त्योभन्दा बढी समय लाग्न सक्छ। पानी पिएपछि मष्तिष्कले संकेत पाउँछ।
तर ‘पोलिडिप्सिया’ नामक सिन्ड्रोम भएका मानिसका लागि भने पानी खतरापूर्ण हुन सक्छ। यस्ता मानिसलाई अत्याधिक तिर्खा लाग्छ र पानी निकै पिउँछन्। तर त्यो पानीका कारण रगत बढी पातलो हुँदा मानिसको मृत्यु पनि हुन सक्छ।
किन र कसरी तिर्खा लाग्छ भन्ने विषयमा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताहरुले एउटा तथ्य पत्ता लगाएका छन्। शरीरले के लिइरहेको छ भन्ने कुरा मष्तिष्कले कसरी थाहा पाउछ भनेर अनुसन्धान गर्दा कोशिकाको एउटा सेटले पानी पिइरहेको सन्देश प्राप्त गर्छ भन्ने पत्ता लाग्यो। मष्तिष्कले पानीको सन्देश पाइसकेपछि बल्ल मानिसमा सन्तुष्टिको अनुभूति हुन्छ।
विगत केही वर्षदेखि वैज्ञानिकहरुले मष्तिष्कमा तिर्खालाई नियमन गर्ने कोशिकाहरुको अध्ययन गरेका थिए। अध्ययनमा सहभागी युकि ओकाका अनुसार पानी पिएपछि मष्तिष्कको यो क्षेत्रको कोष शान्त हुन्छ। तर यो किन हुन्छ भन्ने विषयमा स्पष्ट छैन। मष्तिष्क र तिर्खाको सबन्ध पत्ता लगाउन श्रृंखलाबद्ध अध्ययन गरिएको थियो।
अध्ययनमा सहभागी विनित अगष्टिनका अनुसार मष्तिष्कको तिर्खासंवेदी केन्द्रमा रहेको ‘मिडियन प्रियोप्टिक न्युक्लियस’ नामक क्षेत्रले शरीरले पानी पिउँदैंछ भन्ने सन्देश अन्य कोषहरुलाई दिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।