काठमाडौं- विश्व फुटबलमा सर्वाधिक महत्वपूर्ण मानिने व्यक्तिगत अवार्ड बालोन डि’ओर स्पेनिस क्लब बार्सिलोनाका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले जितेका छन्।
विश्व उत्कृष्ट खेलाडीलाई दिइने अवार्ड यसअघि पाँच पटक जितिसकेका मेस्सीले २०१९ को बालोन डि’ओर जितेर सर्वाधिक बालोन डि’ओर जित्ने कीर्तिमान बनाए।
यसअघि मेस्सीसँगै स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पनि पाँच पटक नै बालोन डि’ओर जितेका थिए। २००७ मा ब्राजिलियन खेलाडी काकाले जितेपछि १० वर्ष लगातार रोनाल्डो र मेस्सीले जितिरहेको बालोन डि’ओर गएको वर्ष लुका मोडरिकले जितेका थिए।
मेस्सीले यसअघि पछिल्लो पटक २०१५ को बालोन डि’ओर जितेका थिए। गएका सिजन क्लब र देशका लागि गरेर गरेको ५४ गोल नै २०१९ को बालोन डि’ओरका लागि पर्याप्त बनेको बताइएको छ। मेस्सीले २००९, २०१०, २०११ र २०१२ मा गरेर लगातार चार वर्ष बालोन डि’ओर जितेका थिए।
२०१९ को बालोन डि’ओर प्रतिस्पर्धामा लिभरपुलका डिफेन्डर भर्जिल भ्यान डाइक दोस्रोमा रहे भने रोनाल्डो तेस्रो नम्बरमा रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।