काठमाडौं-  १३औं दक्षिण एसियाली खेलकुद (साग) मा २९ वर्षमाथिको कराते पुम्सेतर्फ दुई स्वर्ण जितेपछि आयशा शाक्यले ती पदक दुई सन्तानका लागि भएको प्रतिक्रिया दिएकी छिन् । 
जित हात पारेपछि नेपाल लाइभसँग कुरा गर्दै शाक्यले भनिन् ‘मेरा दुई सन्तानका लागि दुई वटा गोल्ड मेडल जितेजस्तो भएको छ। अनि सबै नेपालीका लागि हो यो मेडल।’
यो जित निकै महत्वपूर्ण रहेको र यसमा आफ्ना पति दीपक विष्टको पनि ठूलो हात रहेको उनको भनाइ थियो।  ‘उहाँले नै गाइड गरेर यो स्थानमा आएको हो। गुरुहरु त हुनुहुन्थ्यो। तर उहाँले पनि गाइड गर्नुभयो। उहाँ नभएको भए मेरो अर्को गोल्ड मेडल आउने थिएन,’ दीपकलाई सम्झँदै आयशाले भनिन्। 
आफूले जुन कुरा भन्छु भनेको त्यो आज गरेर देखाएको उनले सुनाइन्। ‘कसैलाई खेल्न उमेरले छेक्दैन, खेल्न मन हुनेले आउनुस् जित अवश्य हुन्छ,’ आयशाले भनिन् । 
जित त्यति सहज नभए पनि निरन्तरको अभ्यासले सफलता मिल्ने उल्लेख गर्दै आयशाले भनिन् ‘जित्न गाह्रो त पक्कै हुन्छ । नो पेन नो गेम भनेजस्तै हो । तर अन्तिममा सफलता भने चुमिन्छ।’ 
अबको लक्ष्यका बारेमा सोधिएको प्रश्नमा उनले भनिन्, ‘अबको लक्ष्य भविष्यले कहाँ डो¥याएर लान्छ भन्नेमा भर पर्छ । आगामी दिनमा यसैगरी मेडल ल्याएर नेपालीको मुहारमा खुसी देख्न पाउँ भन्छु। आइ किप अन ट्राइ, किप अन डुइङ।’ 
ओलम्पिकमा पनि स्वर्ण जित्ने उनको लक्ष्य छ। ओलम्पिकमा पुम्से प्रतियोगिता भएको खण्डमा आफूले भाग लिने आयशाले बताइन्।
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।