सागका लागि महिला भलिबल टिम अभ्यासमा, उषा भण्डारी र हीरा केसी फर्किए

नेपाल लाइभ | २०७६ मङ्सिर १ आइतबार | Sunday, November 17, 2019 १६:५८:०० मा प्रकाशित

काठमाडौं- १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का लागि राष्ट्रिय महिला भलिबल टिममा दुई खेलाडी फर्किएका छन्। आइतबार बिहानदेखि अभ्यास थालेका टोलीमा उषा भण्डारी र हीरा केसी फर्किएका हुन्।  

एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने १२ खेलाडीमा दुई खेलाडी थपेर टिमले अभ्यास गरिरहेको हो। 

एभिसी जित्ने टिममा कप्तान अरुणा शाही, प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, रेश्मा भण्डारी, पुनम चन्द, जानकी भण्डारी, सुनिता खड्का, सफिया पुन, उषा कुमारी बिष्ट, कमला पुन र सलिना श्रेष्ठ रहेका थिए।  

मंसिर १५ देखि २४ गतेसम्म हुने सागका लागि एभिसी सेन्ट्रल जोनको सहभागिताले फाइदा हुने बताइएको छ। नेपालले अहिलेसम्म साग खेलकुदको महिला भलिबलमा तीन पटक कास्य पदक मात्रै जित्न सकेको छ। यसपटक स्वर्ण जित्ने लक्ष्यमा टिम बढीरहेको छ।