महिला फुटबल खेलाडी उत्पादन गर्न प्रशिक्षण दिँदै इटहरी उपमहानगर

नेपाल लाइभ | २०७६ कार्तिक २० बुधबार | Wednesday, November 06, 2019 १२:५१:०० मा प्रकाशित

इटहरी- इटहरी उपमहानगरपालिकाले महिला फुटबल खेलाडी उत्पादन गर्न एक महिने प्रशिक्षण गराउने भएको छ।

उपप्रमुख लक्ष्मी गौतमका अनुसार महिला फुटबल खेलाडी तयार गर्नका लागि उपमहानगरले १ महिने निःशुल्क छात्रा फुटबल प्रशिक्षण सुरु गर्न लागेको छ।

मंसिर १ देखि सुरु हुने प्रशिक्षणका लागि इटहरीका सवै सामुदायिक तथा संस्थागत विद्यालयलाई दुई/दुई जना छात्राको नाम खेलकुद शाखामा पठाउन भनिएको छ। तालिममा सहभागी छात्राका लागि जर्सी र जुत्ताको उपमहानगरले व्यवस्था गर्ने बताइएको छ।

यसअघि उपमहानगरले इटहरीमै पहिलोपटक अन्तरविद्यालय स्तरीय छात्रा फुटबल प्रतियोगिता गरिसकेको छ। छात्राहरुलाई प्रशिक्षण दिई फुटबल खेलप्रति आकर्षित गर्दै खेलाडी तयार गर्न इटहरी उपमहानगरले विभिन्न कार्यक्रम सञ्चालन गर्ने क्रममा छात्रा फुटबल प्रशिक्षण आयोजना गरिएको उपमेयर गौतमले बताइन्।