काठमाडौं- बंगलादेशमा हुने एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियनसिपका लागि १२ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल भलिबल संघले शुक्रबार सुरु हुने प्रतियोगिताका लागि टोलीको घोषणा गरेको हो।
नेपाली टोली थाइल्यान्डमा १९ दिनको प्रशिक्षण गरेर सोमबार मात्रै स्वदेश फर्किएको हो। टोलीले थाइल्यान्डमा ७ वटा अभ्यास खेल खेलेको थियो।
अरुणा शाहीको कप्तानीमा छनोट गरिएको टोली बिहीबार बंगलादेश जाने तय भएको छ।
टोलीमा प्रतिभा माली, सरस्वती चौधरी, निरुता ठगुन्ना, सोफिया पुन, उषा विष्ट, अरुणा शाही, जानकी भण्डारी, सुनिता खड्का, पुनम चन्द, सलिना श्रेष्ठ, कमला पुन र रेश्मा भण्डारी रहेका छन्। यसअघि टोलीमा सँगै रहेका उषा भण्डारी, संगम महतो, शान्ति थारु, शान्ति तामाङ, आरती सुवेदी र हीरा केसी भने छानिएनन्।
मंसिर १५ देखि नेपालमा नै हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि टोलीमा फेरबदल हुन सक्ने भलिबल संघले जनाएको छ। सागका लागि टोलीमा १४ खेलाडी राख्न पाइने नियम रहेको छ। सेन्ट्रल जोनको सहभागिताले सागका लागि मद्धत पुग्ने विश्वास गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।