कमजोर ब्याटिङका कारण नेपाल ओमनसँग पराजित

नेपाल लाइभ | २०७६ असोज २३ बिहीबार | Thursday, October 10, 2019 १७:५४:०० मा प्रकाशित

काठमाडौं- ओमनमा भइरहेको पाँच देश सम्मिलित टी-२० सिरिजको अन्तिम खेलमा नेपाल ओमनसँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको ६५ रनको लक्ष्य ओमनले  ११.५ ओभरमा ४ विकेट जाँदा पूरा गरेको हो।

ओमनले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङमा आएको नेपालले निकै खराब ब्याटिङ गरेको थियो। नेपाल ११ ओभरमा ६४ रन बनाउँदा अलआउट भएको थियो। 

नेपालका लागि आरिफ शेख र दिपेन्द्रसिंह ऐरीले मात्रै दोहोरो अंकमा रन जोड्न सके। आरिफले १३ बलमा २० रन बनाए। दिपेन्द्र ६ बलमा ११ रन बनाउँदा रनआउट भए। 

ओपनिङमा आएका इशान पाण्डेले ६ बलमा २ रन र पारस खड्काले ४ बलमा ६ रन मात्रै बनाए। बिनोद भण्डारीले ३ बलमा ४ रन बनाए। सन्दीप जोरा पहिलो बलमा नै आउट भए। यस्तै सोमपाल कामील्े १४ बलमा ८ रन, करण केसीले ८ बलमा ८ रन, सन्दीप लामिछानेले ५ बलमा २ रन र अभिनाश बोहराले ५ बलमा २ रन बनाए। 

ओमनका आमिर कलिमले पाँच विकेट लिएका थिए। यस्तै बिलाल खानले दुई र मोहम्मद नदिम र खावर अलिले एक–एक विकेट लिए। 

जवाफी ब्याटिङमा ओमनका सुरज कुमारले ३० बलमा ४२ रन बनाए। 

ओमन र नेपालसहित हङकङ, आयरल्याण्ड र नेदरल्याण्ड्स सहभागी भएको सिरिजमा नेपालले दुई खेल जितेर दुई खेल हारेको हो।  

सिरिजको पहिलो खेलमा नेपालले हङकङलाई चार विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा नेदरल्याण्ड्सलाई पनि चार विकेटले नै हराएको नेपाल तेस्रो खेलमा आयरल्याण्डसँग १३ रनले पराजित भएको थियो। 

सिरिजमा चार खेल जितेको ओमन शीर्षमा रह्यो। तीन खेल जितेको आयरल्याण्ड दोस्रोमा र नेपाल तेस्रोमा रह्यो। नेदरल्याण्ड्सले एक खेल जित्यो भने हङकङ चारै खेलमा पराजित भयो।