काठमाडौं- नेपाली सेना पहिलोपटक ‘विश्व सैन्य खेलकुद’ प्रतियोगितामा सहभागी हुने भएको छ।
नेपाली सेनाले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी चीनको युहान प्रान्तमा आगामी कार्तिक १ गतेदेखि सुरु हुने सातौं विश्व सैन्य खेलकुद प्रतियोगितामा पहिलोपटक सहगागी हुन लागिएको औंपचारिक जानकारी गराएको हो।
अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्को आयोजनामा यो वर्ष सो खेलुकद प्रतियोगिता चीनको युहान प्रान्तमा आयोजना हुँदैछ। सो प्रतियोगितामा नेपाली सेनाले पहिलोपटक भाग लिन लागेको महासेनानी शशीकिरण रायमाझीले जानकारी दिए। खेलकुदको माध्यमबाट विश्वमा शान्ति स्थापना गर्ने मुख्य उद्देश्यका साथ अन्तर्राष्ट्रिय सैनिक खेलकुद परिषद्ले यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
खेलकुद प्रतियोगितामा २५ वटा खेल र दुईवटा प्रदर्शन खेल गरी २७ वटा खेलहरु हुनेछन्। जसमा १ सय ५ राष्ट्रका १० हजार ७ सय १९ जना खेलाडीहरु सहभागी हुने पनि महासेनानी रायमाझीले बताए।
प्रतियोगितामा नेपाली सेनाले आर्चरी, ब्याटमिन्टन, बक्सिङ, घोडचढी, जुडो, तेक्वान्दो, कुस्ती, बिच भलिबल, मोर्डन पन्टाथलन, ट्रयाक एन्ड फिल्डलगायतका १३ वटा खेलकुद प्रतियोगितामा भाग लिनेछ।
प्रतियोगिताको उद्घाटन सत्रमा विशेष अतिथिको रुपमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल पनि सहभागी हुने नेपाली सेनाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।