म्यानचेस्टर युनाइटेडमा अभ्यास छाडेर पुरानो क्लबतिर लुकाकु

नेपाल लाइभ | २०७६ श्रावण २२ बुधबार | Wednesday, August 07, 2019 १७:३१:०० मा प्रकाशित

काठमाडौं – म्यानचेस्टर युनाइटेडले स्ट्राइकर रोमलु लुकाकुलाई बिना जानकारी अभ्यासमा उपस्थित नभएको भन्दै जरिवाना लगाउने भएको छ । घाइते भएका कारण युनाइटेडको प्रि सिजन खेलमा नरहेका लुकाकु पुरानो क्लब एन्डरलेच्टमा अभ्यास गरिरहका छन् ।

बेल्जियन राष्ट्रिय टिमका २६ वर्षका लुकाकुले सोमबार र मंगलबार बेल्जियन क्लब एन्डरलेच्टमा नै अभ्यास गरेका हुन् । सोमबार युनाइटेडमा अभ्यास नभए पनि मंगलबार भने युनाइटेडमा नै अभ्यास रहेको थियो । यसैले उनलाई क्लबले जरिवाना लगाउने भएको हो । जरिवाना के कति हुने भन्ने खुलाइएको छैन ।

लुकाकु २०११ मा चेल्सी आउनुअघि दुई वर्ष एन्डरलेच्टमा नै थिए । अहिले सिरी ए क्लब इन्टर मिलान र युभेन्टसले लुकाकु भित्र्याउने इच्छा देखाइरहेका छन् ।