तिम्रो अनुहारमा हेर्न नसक्दा
म
तिम्रा गोडा हेर्ने गर्छु।
कलात्मक अस्थिहरूले बनेका तिम्रा गोडा,
तिम्रा दह्रा साना गोडा।
सहारा दिन्छन् तिनले तिमीलाई
र तिनैमाथि अडिन्छ
तिम्रो सुन्दर शरीरको भार।
तिम्रो कम्मर र तिम्रा स्तनहरू,
तिम्रा एक जोर बैजनी थुनहरू,
भर्खरै उडेर गएका तिम्रा आँखाका खोपा,
तिम्रो चौडा मुख,
राता धागाले बाँधेको तिम्रो केशराशी,
मेरो चिटिक्कको सानो स्तम्भ।
तर तिम्रा गोडा मनपराउँछु म
केवल एउटै कारणले-
धर्तीभरि कताकता हिँडिरहे
आँधी र पानीमा भौँतारिइरहे तिनीहरू
मलाई नभेटुन्जेल।
(अनुवाद – सुमन पोखरेल)
प्रस्तुत कविता कवि सुमन पोखरेलद्वारा अनूदित कविताहरुको संग्रह 'मनपरेका केही कविता' बाट लिइएको हो। शिखा बुक्सले प्रकाशन गरेको संग्रह बैसाख ७ गते शुक्रबार सार्वजनिक हुँदै छ। संग्रहमा अन्ना आख्मातोभा, अन्ना स्विर, एलेन गिन्सबर्ग, ओक्टाभियो पाज, गाब्रिएला मिस्ट्र्ल, ज्याक प्रिभेर, डेलमिरा अगस्तिनी, नाजिक अल मलाइका, नाजिम हिकमत, निजार कब्बानी, पाब्लो नेरुदा, फरोग फारुखजाद, महमुद दरविस, येहुदा अमिसाई तथा सिल्भिया प्लाथका गरी ६३ वटा कविता समावेश गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।