विनाशकारी हावाहुरी : यस्तो छ घाइतेको अवस्था [फोटोफिचर]

नेपाल लाइभ | २०७६ जेठ २३ बिहीबार | Thursday, June 06, 2019 २२:५०:०० मा प्रकाशित

कैलाली- कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढी घाइते भएका छन्। 

मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए। 

घाइतेको उद्धार गरी विभिन्न अस्पताल पुर्‍याउने काम जारी रहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी गिरीले उल्लेख गरे। 

बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको छ। 

'हावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,' एसपी गिरीले नेपाल लाइभसँग भने। 

धनगढी उपमहानगरको ढुंगेबजार क्षेत्र हावाहुरीबाट बढी प्रभावित भएको समेत उनले जानकारी दिए। बिजुलीका पोल ढलेका कारण विद्युत सेवा समेत अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको एसपी गिरीले उल्लेख गरे। 

क्षतिको थप विवरण आउन बाँकी छ।