प्युठान- जंगलमा बाटो ढुकेर दिउँसै लुटपाट गर्ने ४ जनाको नकावधारी समूहलाई प्रहरीले पक्राउ गरेको छ। पैसा लुटेको २४ घन्टा नबित्दै प्रहरीले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो।
बुधबार साँझ ५ बजे उक्त घटना भएको थियो। प्युठानको स्वर्गद्वारी नगरपालिका २ मा गाउँबाट समूहको पैसा बोकेर भिङ्ग्रीतर्फ आउँदै गरेकी सूर्योदय लघुवित्त संस्थाकी कर्मचारी सुशीला केसीको साथमा रहेको ३ लाख १२ हजार ५ सय ६० रुपैयाँ लुटिएको थियो। लुटेरा समूहले ब्ल्यांकेटले ढाकेर केसीको साथमा रहेको रकम लुटेको प्रहरीको भनाइ छ।
लुटपाटपछि भाग्न सफल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी नायब उपरीक्षक निर्मल बुढाथोकीको नेतृत्वमा गएको प्रहरी टोलीले आज पक्राउ गरेको हो। उनीहरुको साथबाट लुटिएको रकम बरामद गरिएको छ।
पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका २ का जीवन हमाल, निरज विक, कुशल सेन र निर्दोष सेन ठकुरी रहेको डिएसपी बुढाथोकीले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।