काठमाडौं- काठमाडौं महानगरपालिकाले सहरी समस्यालाई स्वतन्त्र र प्रविधिमा आधारित नयाँ सोचबाट समाधान खोज्न खुला गरेको प्रतिस्पर्धामा २४ समूह अन्तिम चरणमा पुगेका छन्। ‘स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५’ का नाममा महानगरको सहरी योजना आयोगले ६ महिनाअघिबाट सुरु गरेको प्रतिस्पर्धाका लागि ४ विषय प्रस्तुत गरिएको थियो।
विभिन्न ६ चरणमा विभाजन गरिएको प्रतिस्पर्धाअन्तर्गत पहिलो चरणमा छनोटमा परेका सोचलाई विज्ञ समूहबाट करिब ३ महिना नियमित तालीम दिइएको थियो। तीमध्ये अन्तिम प्रतिस्पर्धामा पुगेका ४ विषयका २४ समूह प्रतिस्पर्धीलाई विशिष्ट प्रकारको तालीम दिएर सोचमा निखार ल्याउन महानगरले मद्दत गरेको थियो।
यसमा विजेता पहिलो समूहले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। यो पुरस्कारबाट उत्कृष्ट मानिएको सोचलाई उद्यमशीलतामा रुपान्तरण गर्न सहयोग पुग्ने महानगरको लक्ष्य हो। त्यस्तै प्रतिस्पर्धाका ४ विषयगत विजेतालाई प्रतिसमूह २ लाख र उपविजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिने सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले जानकारी दिए।
विभिन्न चरणमा विषयको महत्व, उत्पादन क्षमता, व्यावसायिक नमूना, विस्तार योग्यता र प्रस्तुति एवं व्याख्या गरी छुट्टाछुट्टै ५ आधारलाई सूचक मानेर मूल्याङ्कन गरिएको थियो। उनीहरुका प्रस्तुति सहरी समस्याका मुख्य ४ विषयमा निर्धारण गरिएको छ। प्रतिस्पर्धाका लागि राखिएका विषयमा समुदाय तथा वातावरण, सहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन छन्। यस चरणमा आउनुअघि उनीहरुले ५ चरण पार गरिसकेका छन्।
प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौंका सहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन्। प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने विश्वास लिइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।