काठमाडौं– नेपाल चलचित्र कलकार संघको नेतृत्वका लागि पहिलोपल्ट महिला कलाकार सरिता लामिछानेले दाबी गरेकी छिन्। पुरुष पकडमा रहेको संघको नेतृत्वमा महिला पुर्याउन वरिष्ठ कलाकारहरु समेत सक्रिय भएका छन्।
नेपाली फिल्मका चर्चित अभिनेत्रीहरु गौरी मल्ल, करिश्मा मानन्धर र रेखा थापा खुलेरै सरितालाई जिताउने अभियानमा लागेका छन्। उनीहरु मंगलबार लामिछानेको पत्रकार सम्मेलनमै उपस्थित भएर समर्थन जनाएका हुन्।
कलाकार संघको अध्यक्ष पदमा लामिछाने र कलाकार रविन्द्र खड्काले उम्मेदवारी दिएका छन् । सरिताले मंगलबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्रतिबद्धता पत्र समेत सार्वजनिक गरिन्।
उनले कलाकार संघको भवन निर्माणमा जोड दिने प्रतिबद्धता गरेकी छिन् । साथै कलाकारको पेन्सनका लागि पहल गर्ने समेत बताएकी छिन्।
निर्वाचनको समयमा आफूमाथी विभन्न आरोप लागेको बताउँदै उनले चित्त दुखाइन् । उनले भनिन्, ‘नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय लिएपछि मैले धेरै किसिमका धाकधम्की र बेइज्जती सहिरहनु परेको छ। तीन वर्ष कलाकार संघमै महासचिव थिएँ तर पनि गैर कलाकार भएको कुरा आयो । सायद महिलाको नेतृत्व हुने भएर पनि विवाद आएको होला । तर म डराएकी छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।