काठमाडौं- सत्तारुढ दल नेकपाका सांसद खगराज अधिकारीले संसद बैठक कक्षमा भाँचिएको कुर्सी हटाउने व्यवस्था गर्न सभामुखमार्फत संसद सचिवालयको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखसँग समय लिएर बोल्दै सांसद अधिकारीले भाँचिएका कुर्सी नै देखाएर संसदको ध्यानाकर्षण गराएका हुन्।
बैठक कक्षमा भाँचिएको कुर्सीको आधी भाग उचालेर देखाउदै उनले भने, '४ पटक भयो सभामुख महोदय म यहाँबाट लडेको। अहिलेसम्म दुर्घटना भएको छैन, बाँचिएको छ। तर, यो कतिपटक भन्नुपर्ने हो संसद सचिवालयलाई? आगामी दिनमा यस्ता कुर्सी कम्तीमा नराखियोस्। यो त धराप भयो। त्यसकारण यो त धेरै गम्भीर आपत्तिको विषय भएको हुनाले ज्यान जोगाई पाऊँ भन्नुपर्ने अवस्था आयो।'
उनको ध्यानाकर्षणसँगै संसद बैठक कक्षमा हाँसो छाएको थियो भने सभामुख कृष्णबहादुर महराले सांसद अधिकारीले उठाएको विषयबारे ध्यानाकर्षण भएको जनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।