गुजरातमा एक व्यावसायिक भवनमा आगो लाग्दा कम्तीमा १५ बालबालिकाको मृत्यु

नेपाल लाइभ | २०७६ जेठ १० शुक्रबार | Friday, May 24, 2019 २०:२६:०० मा प्रकाशित

गुजरात- गुजरातको सुरतस्थित एक व्यावसायिक भवनमा आगो लाग्दा कम्तीमा १५ बालबालिकाको मृत्यु भएको छ। गुजरातका उप-मुख्यमन्त्री नितिन पटेललाई उद्धृत गर्दै समाचार एजेन्सी पिटिआईले १५ बालबालिकाको मृत्यु भएको पुष्टि गरेको छ।

शुक्रबार साँझपख कोचिङ कक्षा चलिरहेको सो भवनमा आगलागी हुँदा धेरैको ज्यान गएको हो। ज्यान बचाउन भवनको तेस्राे तथा चाैथाै तलाबाट हाम फाल्ने क्रममा उनीहरुको मृत्यु भएको बिबिसीले लेखेको छ।

समाचार एजेन्सी एएनआईले सुरत प्रहरीका कमिस्नर सतिश कुमार मिश्राको हवाला दिँदै मृतकको संख्या बढ्न सक्ने जनाएको छ।‍ सुरतको सर्थनामा रहेको सो भवनमा अझै केही व्यक्ति फसेको हुनसक्ने बताइएको छ।

तक्षशिला कम्प्लेक्सको तेस्राे र चाैथो तलामा आगो लागेको हो। भारतीय अधिकारीका अनुसार घटनास्थलमा दमकल विभागका १९ वाहनले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।

घटनालाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले ट्विट गर्दै प्रभावितहरुको उद्धार तथा सहयोगको लागि गुजरात सरकार र स्थानीय प्रशासनलाई निर्देशन दिएको जनाएका छन्।

गुजरातका मुख्यमन्त्री विजय रूपाणीले पनि घटनाप्रति शोक जनाउँदै तत्काल सहयोग तथा उद्दारका लागि खटिन सम्बद्ध सबै अधिकारीहरुलाई निर्देशन दिएका छन्। उनले घटनाको जाँचका लागि पनि आदेश दिएका छन्। मुख्यमन्त्री रुपाणीले गुजरात सरकारले मृतकका परिवारका लागि जनही ४ लाख भारतीय रुपैयाँ सहयोग दिने घोषणासमेत गरेका छन्।