सरगमाथाको उचाइ नाप्न गएको टोलीका ३ सदस्य अस्पताल भर्ना

नेपाल लाइभ | २०७६ जेठ ९ बिहीबार | Thursday, May 23, 2019 १८:२६:०० मा प्रकाशित

काठमाडौं- विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि खटाइएको नापी विभागको टोलीका ३ जनालाई उपचारका लागि नर्भिक अस्पताल भर्ना गरिएको छ। 

सगरमाथाको चुचुरोमा पुगी बिहिबार राजधानी फर्केको सो टोलीका नेतृत्वकर्ता नापी विभागका उपसचिव खिमलाल गौतमसहित ३ जनालाई अस्पतालको आकिस्मक कक्षमा भर्ना गरिएको हो। 

हिउँको अत्यधिक चिसोपना 'फ्रस्टबाइट' लगायतका समस्या भएपछि उनीहरुलाई अस्पताल भर्ना गरिएको हो। 

उनीहरुको अवस्था सुधारोन्मुख रहेको अस्पताल स्रोतले जानकारी दिएको छ। 

टोली बुधबार बिहान ३ बजेर १५ मिनेटमा सगरमाथाको शिखरमा पुगेको थियो। 

टोलीका सदस्य रविन कार्कीसहित क्लाइम्बिङ गाइड छिरिङजाङ्बु शेर्पालगायतले शिखरमा पुगेर 'जिएनएनएस जिपिएस सेट' गर्ने काम सम्पन्न गरेको विभागको टोलीलाई आरोहण व्यवस्थापनको जिम्मा लिएको थियो। 

सगरमाथाको उचाइ यसअघि विभिन्न देश तथा अन्तराष्ट्रिय निकायको पहलमा नापिए पनि यसपटक भने नेपाल आफैंले सगरमाथाको उचाइ नाप्ने काममा अग्रसरता देखाएको हो।

०७२ काे भूकम्पपछि सगरमाथाको उचाइ घटेको अडकलबाजी हुँदै गर्दा साे भ्रम तोड्नका लागि पनि सरकारी टोलीलाई त्यसतर्फ पठाइएको हो।