नयाँ बजेटमा तलब कटौति हुने चर्चासँगै लेवनानमा विरोधस्वरुप राष्ट्रव्यापी हडताल

नेपाल लाइभ | २०७६ जेठ ७ मंगलबार | Tuesday, May 21, 2019 ०७:१८:०० मा प्रकाशित

बेरुत- राष्ट्रिय आर्थिक सङ्कट व्यवस्थापन गर्न सन् २०१९ को बजेटले सार्वजनिक सेवा क्षेत्रमा कार्यरत कर्मचारी, शिक्षक तथा अन्य कामदारकोे तलब कटौति गर्ने चर्चापछि दबाबमा सोमबार लेवनानमा राष्ट्रव्यापी हडतालको आयोजना गरिएको छ।

लेवनानी जनता, देशभरका निजी विद्यालयमा कार्यरत शिक्षक, नगरपालिकाका कर्मचारी, सार्वजनिक क्षेत्रका कर्मचारी, नगर प्रशासन, बन्दरगाह प्रशासन लगायतमा कार्यरत कर्मचारी तथा श्रमिकले तलब कटौति गर्ने सरकारी योजनाको विरोधमा हडताल गरी दबाब दिएका यहाँको नेसनल न्युज एजेन्सीले जनाएको छ।

यसैबीच, देशभरबाट लेबनानको राजधानी बेरूतमा विरोध प्रदर्शनका लागि जान सर्यौँको सङ्ख्यामा गाडीहरूको प्रयोग गरिएको थियो। उनीहरूले सरकारले सार्वजनिक सम्बोधनमार्फत तलब कटौति नगर्ने प्रतिबद्धता नजनाएसम्म अनिश्चित समयसम्मका लागि हडताल जारी राख्ने बताएका छन्।

मन्त्रिपरिषद्‌मा सन् २०१९ का लागि बजेटको खाकाबारे छलफल चलिरहेका समय हडतालको आह्वान गरिएको हो। प्रदर्शनमा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीका साथै प्रहरी र सेनाको पनि सहभागिता रहेको बताइएको छ।

लेबनानको बजेट घाटालाई सम्बोधन गर्न आर्थिकरूपले सङ्कटग्रस्त मुलुकको प्रशासनले तलब कटौति गर्ने योजना ल्याउन लागेको राजनीतिक नेतृत्व, मन्त्रिपरिषद्‌का सदस्य तथा सरकारी अधिकारीले जनाएका छन्। रासस/सिन्ह्वा