स्थानीयले बन्द गराए चापागाउँमा यातायात सेवा

रासस | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 २०:०१:०० मा प्रकाशित

ललितपुर– चापागाउँमा ६ दिनदेखि यातायात सेवा बन्द छ। स्थानीयवासीले सडक मर्मतको माग गर्दै सो यातायात सेवा बन्द गराएका हुन्। 

सडक विस्तार आयोजनाले समयमै चापागाउँ–सातदोबाटो सडकखण्ड मर्मत नगर्दा स्थानीयवासीले धुलो, हिलो र धुवाँको समस्या खेप्दै आएका छन्।

‘धूवाँ, धुलो अति भो, ठेक्का दिएको कति भो, समय हेर्‍यौं पटक पटक, पछि हट्दैनौं हामी यो पटक’ नाराका साथ चापागाउँवासीले सडक ठप्प पारेका हुन्। बन्दका कारण सो क्षेत्रको जनजीवन प्रभावित बनेको छ।  

सडक समस्या समाधान गर्नका लागि पहल गर्ने गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले बताए।

'राज्यले स्थानीयवासीलाई समयमै मुआब्जा दिन नसकेका कारण बीच बीचमा सडक निर्माणको काम रोकिँदा धूवाँ, धुलोको समस्या खप्नुपरेको हो', उनले भने।

नगरपालिकाले सहजीकरणको काम मात्र गर्ने हुँदा बारम्बार बैठकमा कुरा उठाएको महर्जनले बताए।

नगरपालिकाको मातहतमा छेउ र भित्री सडक मर्मत गर्ने जिम्मेवारी रहेकाले मर्मत गरिँदैछ। नगरपालिकाले चापागाउँ मूल सडकबाट सानो टिपर आवतजावत गर्न दिए पनि ठूलो टिपरको लागि नख्खु करिडोरको व्यवस्था गरेको छ। 

सो सडक विस्तार र मर्मत मात्र होइन् कालोपत्र पनि गरिनुपर्ने स्थानीयवासीको माग छ। सडकमा परेका घर टहरा पूरै नहटाएसम्म कालोपत्र गर्न नमिल्ने सडक विभागका महानिर्देशक केशवराज शर्माले बताए।

'घरको मुआब्जाको व्यवस्था भएपछि मात्र कालोपत्र सम्भव छ', उनले भने।

सरकारले तत्काल चापागाउँ सडक मर्मत गर्ने जिम्मेवारी नलिए आन्दोलनमा उत्रने सांसद नवराज सिलवालले बताए।