डिल्लीबजार मालपोतका प्रमुख अवहेलनामा दोषी ठहर, उच्चले गर्‍यो ५ हजार जरिवाना

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 १७:४१:०० मा प्रकाशित

काठमाडौँ- उच्च अदालत पाटनले डिल्लीबजार मालपोत कार्यालयका प्रमुख विश्व मरासिनीलाई ५ हजार जरिवाना गर्ने आदेश जारी गरेको छ। मुद्दा सम्बन्धी फाइल पटकपटक पत्रचार गर्दा समेत उपलब्ध नगराएको भन्दै मालपोत प्रमुख मरासिनीलाई ५ हजार जरिवाना गर्ने आदेश गरेको हो। 

अदालतको आदेश अटेर गरेर अवहेलना गरेको ठहर गर्दै जरिवाना गर्ने निर्णय उच्च अदालतले बुधबार जारी गरेको हो।

उच्च अदालतका न्यायाधीशद्वय मोहम्मद साबिर हुसेन र टेकनारायण कुँवरको इजलासले मंगलबार यस्तो आदेश गरेको हो। 

५ वटा फाइलहरु पटक–पटक माग गर्दा समेत मालपोत कार्यालयले बेवास्ता गरेपछि न्याय प्रशासन ऐन अनुसार मालपोत कार्यालयका प्रमुख मरासिनीलाई जरिवाना गर्ने निर्णय उच्च अदालतले गरेको हो। 

उच्चले २०७५ जेठ ६, असार ८, साउन १९, माघ ३, चैत ३ गरी ५ पटक अदालतको आदेश कार्यान्वयनका लागि पत्र लेखेको थियो। उच्चले २०७५ जेठ ३० गते गरेको जग्गा सम्वन्धी आदेश कार्यान्वयनका लागि चासो नदिएपछि  उनीमाथि कारवाही गर्ने निर्णय गरेको हो। 

उच्चले पहिलो पटक मरासिनीलाई ५ हजार हुने र जरिवाना बुझाउन उपस्थित नभए थप कारबाही हुने उच्चको आदेशमा उल्लेख छ।