संसदमा दर्ता भएका ३ विधेयकमा कांग्रेसको आपत्ति, सरकार निरंकुशताको बाटोमा अघि बढेको आरोप

नेपाल लाइभ | २०७६ जेठ १ बुधबार | Wednesday, May 15, 2019 ११:४५:०० मा प्रकाशित

काठमाडौं– नेपाली कांग्रेसले संसदमा दर्ता भएका तीन विधेयकमा आपत्ति जनाएको छ। 

बुधबार सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकले 'नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक', 'राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक' र 'राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' मा कांग्रेसले कमजोरी रहेको औंल्याएको हो। उसले संविधानको प्रावधान विपरित विधेयक दर्ता गरिएको समेत बताएको छ।

'संविधानको पालना र रक्षा गर्ने मूल दायित्व सरकारको हो। तर, वर्तमान सरकारले संविधानको व्यवस्था र भावनको प्रतिकूल हुनेगरी विभिन्न विधेयकहरु संघीय संसदमा दर्ता गराएको छ', बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ।

'मिडिया काउन्सिल सम्बन्धी विधेयकले संविधानको प्रावधान र भावनालाई ठेस पुर्‍याउने र प्रेस स्वतन्त्रतालाई कुन्ठित गर्ने आशय बोकेको छ', विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, मानव अधिकार सम्बन्धी विधेयकले संवैधानिक आयोगलाई महान्यायाधिवक्ता कार्यालय अन्तर्गत राख्न खोजिएको उसको बुझाइ छ।

सुरक्षा परिषद् विधेयकले सुरक्षा परिषद् र नेपाली सेनालाई पन्छाएर प्रधानमन्त्रीको एकल निर्णयबाट सेना परिचान गर्न खोजिएको देखिने उसको दाबी छ।

उसले यस्ता विधेयकहरु प्रस्तुत गरेर वर्तमान सरकार निरंकुशताको यात्रामा अघि बढिरहेको आरोप लगाएको छ। उसले उल्लेखित विधेयकहरु फिर्ता लिन माग गरेको छ।