मोटरसाइकल चोरेर पार्टपूर्जा खोल्दै बेच्ने ३ जना 'रंगेहात' पक्राउ

नेपाल लाइभ | २०७६ बैशाख ३१ मंगलबार | Tuesday, May 14, 2019 १८:३३:०० मा प्रकाशित

काठमाडौं- काठमाडौंको गोकर्णेश्वर नगरपालिका-८ अत्तरखेलमा पार्किङ गरी राखेको प्रदेश ३-००२-००३ प ८१३१ नम्बरको मोटरसाइकल चोरी गरी पार्टपूर्जा बेच्ने ३ जनालाई प्रहरीले रंगेहात पक्राउ गरेको छ। 

प्रहरीले कागेश्वरी नगरपालिका-१ गागलफेदीबाट उनीहरुलाई आइतबार पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका-५ पालुवारी घर भएका २६ वर्षीय तिलक बहादुर तामाङ, सोही नगरपालिका-४ जर्सिङपौवा बस्ने २२ वर्षीय निराजन ओझा र गागलफेदी बस्ने १८ वर्षीय महोम्मदसजाद खान रहेका छन्।

उक्त मोटरसाइकल शनिबार चोरी गरी सोही ठाउँस्थित मर्मत केन्द्रमा लुकाईछिपाई राखेको सूचनाका आधारमा महानगरीय प्रहरी बिट गागलफेदीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

कागेश्वरी नगरपालिका–१ स्थित मोटरसाइकल मर्मत केन्द्रमा जाँच गर्ने क्रममा उक्त मोटरसाइकलका पार्टपूर्जाहरु अलग्याईएको अवस्थामा फेला पारेको हो।

मर्मत केन्द्रबाट अन्य मोटरसाइकलका विभिन्न पार्टपूर्जासमेत प्रहरीले बरामद गरेको छ।