जनकपुर- मुख्यमन्त्री लालबाबु राउतले सेवा प्रवाहको झन्झटिलो प्रक्रियाले भ्रष्टाचार संस्थागत हुँदै गएको टिप्पणी गरेका छन्।
उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिको आयोजनामा जनकपुरमा सम्पन्न 'प्रशासकीय न्याय, साकारात्मक सोच र सेवा' विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले सेवाग्राहीहरु झन्झटिलो प्रक्रियालाई थेग्न नसकेपछि घुस दिएर काम गराउने गरेको भएकाले सेवा प्रवाहको प्रक्रियालाई जनमुखी र व्यवहारिक बनाउनुपर्ने धारणा राखे।
मुख्यमन्त्री राउतले भ्रष्टाचारको अन्त्यको सुरुवात माथिबाटै हुनुपर्ने उल्लेख गर्दै भने, ‘भ्रष्टाचार अन्त्यको सुरुवात आफैंबाट गरिनुपर्दछ, त्यो पनि माथिल्लो निकायबाट। अनि मात्र भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ।’
नियम र कानुन बनाएर भ्रष्टाचार अन्त्य गर्न नसकिने दाबी गर्दै उनले यसका लागि आफ्नै छातीमा हाथ राखेर अघि बढनुपर्ने जिकिर गरे। नियम कानुन मिचेर गरिएको कर्मचारी समायोजनले प्रदेश र स्थानीय तहमा आएका कर्मचारीहरुमा आतंक सिर्जना गर्ने कार्य गरेको उनले आराेप लगाए।
जनकपुर उच्च अदालतका मुख्यन्यायधीश हरि पोखरेलको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा मधेशी आयोगका अध्यक्ष डा विजय दत्त, उच्च स्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिका अध्यक्ष काशिराज दाहाल, प्रदेशसभा सदस्य, प्रमुख जिल्ला अधिकारी प्रदिप कँडेलसहितले बाेलेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।