गुगल म्यापबाट लिइएको बालुवाटारको तस्बिर। रातो दोहोरो घेरामा पौडेलको जग्गा
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलका पुत्र नवीन पौडेलको नाममा ल्याइएको बालुवाटारको जग्गाको मिसिल नम्बर खुलेको छ। उक्त जग्गाको फाइल तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीसँगको मिलेमतोमा भूमाफियाहरुले गायब पारेका थिए। बालुवाटार जग्गा प्रकरणबारे मिडियामा समाचार आउन थालेपछि गत सातादेखि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उक्त फाइलको समेत खोजी थालेको थियो।
मन्त्रालयले बनाएको छानबिन समितिले पौडेलको स्वामित्वमा रहेको जग्गाको फाइल नम्बर १०२५ रहेको पत्ता लगाएको हो।
६ चरणको प्रक्रिया पार गरी बालुवाटारको उक्त सरकारी जग्गा भूमाफियाहरुबाट पौडेलकहाँ पुगेको डिल्लीबजारस्थित मालपोत कार्यालयको अभिलेखबाट देखिन्छ। २०४९ कात्तिक २५ गते सरकारले गरेको निर्णयको जगबाटै पौडेलसम्म जग्गा आउने पृष्ठभूमि तयार भएको थियो।
पौडेलको नाममा आएको सरकारी जग्गा तत्कालीन काठमाडौं नगर २३ ह मा अवस्थित थियो। सरकारी जग्गा फिर्ता गर्ने क्रममा त्यसलाई कित्ता नम्बर २९ कायम गरियो। २९ बाट कित्ता नम्बर ४४ परिवर्तन गरी माया प्रजापतिको नाममा मोही कायम गरियो। उनको नाममा त्यसबेला एक रोपनी, दुई आना जग्गा थियो।
गायब पारिएको पौडेलको जग्गाको फाइल खोज्ने क्रममा डिल्लीबजार मालपोत कार्यालयका कर्मचारीले प्रजापतिका नाममा रहेको कित्ता नम्बर ४४ लाई ५ कित्तामा कायम गराइएको फेला पारेका छन्। तत्कालीन कित्ता नम्बर ४४ लाई भिडाउँदा हाल कायम २६६, २७२, २९४, ९८, ३०९ सँग मेल खाएको देखिन्छ।
मिसिल नम्बर १२३८ मा कायम श्रेस्ता अनुसार २०६० पुस १५ को सरकारी निर्णय अनुसार उक्त जग्गा प्रजापतिकै नाममा रहेको देखिन्छ।
हाल रोक्का रहेको कित्ता नम्बर ९८ भने रेणुका बज्राचार्यको नाममा छ। तत्कालीन समयमा प्रजापतिकै नाममा रहेको कित्ता नम्बर ३०९ हाल नवीन पौडेलको नाममा आएको छ। पौडेलको नाममै रहेको ३१५ कित्ता पनि रोक्का गरिएको छ, जुन जग्गा प्रजापतिको २७२ कित्ताकाट गरी ३१५ कायम गरिएको हो।
माया प्रजापति को हुन् भन्ने खुल्दैन। किनकि भूमाफिया किटान गरिएका डा शोभाकान्त ढकाल र अधिवक्ता रामप्रसाद सुवेदीले उनलाई नक्कली मोही खडा गरेका थिए। ढकाल र सुवेदीलाई पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको सरकारी जग्गा छानबिन समितिले 'भूमाफिया' भनेरै किटान गरेको छ।
यिनै भूमाफियाद्वयले पछि प्रजापति मोही रहेको जग्गालाई आफ्ना पत्नी उमाकुमारी ढकाल र माधवी सुवेदीको नाममा सँगोलनामा गरिदिए। तीन जनाको सँगोलमा रहेको उक्त जग्गाबाट प्रजापतिको नाममा रहेको हिस्सालाई फेरि उनीहरुले मचाबाबु प्रजापतिको नाममा सारिदिए। यसपछि माया प्रजापति नामोनिसान रहेन। यी मचाबाबुलाई पनि ढकाल र सुवेदीले माया प्रजापति जस्तै नक्कली मोही खडा गरेका थिए।
पछि उनीहरुले मचाबाबुलाई पनि जग्गाको स्वामित्वबाट हटाउँदै ढकाल र सुवेदीले आफ्ना पत्नीहरुको नाममा ल्याए। तर, मचाबाबुको नाममा सारिएको हिस्सा खारेज गरिए पनि कुन आधारमा खारेज गरेको भनेर खुलाइएको छैन।
गायब पारिएका फाइलबाट जग्गा कित्ता पहिचान गर्ने क्रममा रोक्का राखिएका जग्गाधनीहरुमा प्रजापतिको नाममा हाल कुनै पनि कित्ता देखिँदैन।
प्रजापति हुँदै ढकाल र सुवेदी पत्नीमा आएको स्वामित्व परिवर्तन हुँदै आएको सोही जग्गा नेकपा महासचिव पौडेल पुत्रको नाममा परिवर्तन भएको देखिन्छ। सो जग्गा २०६१ पुस २९ मा पौडेलको नाममा आएको हो।
पौडेलको नाममा कित्ता नम्बर ३०९ र ३१५ को जग्गा आएको थियो। उनको नाममा आएको जग्गाको रजिस्ट्रेसन नम्बर ९२८९ रहेको छ।
यो पनि : बालुवाटार जग्गा प्रकरण : गोयल ग्रुपको निर्माण कम्पनीका नाममा मात्र १९ कित्ता!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।