सलमानले फोडे आफ्नै फ्यानको मोबाइल

नेपाल लाइभ | २०७४ भदौ २० मंगलबार | Tuesday, September 05, 2017 ०९:१६:०० मा प्रकाशित

नयाँ दिल्ली– सलमान खान आफ्नो अघिल्लो फिल्म ‘टाइगर जिन्दा हे’ को सुटिङमा व्यस्त छन्। फिल्मको सुटिङ अस्ट्रिया र अबुधाबीमा भइरहेको छ। तर, यसैबीच उनको विषयमा बाहिरिएको अर्को खबरले सबैलाई आश्चर्यमा पारेको छ। 

एउटा पुरस्कार समारोहमा सलमानले आफ्नो ‘फ्यान’को फोन फुटाइदिएको खबरले अहिले बजार तातिएको छ। 

फिल्मफेयरले सार्वजनिक गरेको समाचारअनुसार पुरस्कार समारोहमा सलमान साथीसँग कुरा गरिरहेका थिए। यति नै बेला उनको एकजना ‘फ्यान’ अगाडि आएर आफ्नो अनब्रेकेबल (नफुट्ने) फोन देखाए। उनले सलमानलाई आकर्षित पार्न आफ्नो फोन जतिसुकै भूईमा हिर्काए पनि नफुट्ने भन्दै गफ दिएका थिए। सुरुमा सलमानले उनको त्यो गफलाई वास्ता गरेका थिएनन्। तर, पटकपटक ती ‘फ्यान’ आफ्नो अगाडि उभिएपछि सलमानले बाध्य भएर फोनलाई भूईमा पटकिदिएका थिए। 

पहिलो पल्ट सलमानले फोनलाई भुईमा हिर्काउदा फोन फुटेको थिएन्। सलमानले दोस्रो पल्ट पनि फोनलाई भूईमा पड्केका थिए। सलमानको यो हर्कत देखेर त्यहाँ उपस्थित सबै जना नजिक आएका थिए। उनीहरुले फोन फुटाउन ताली पिटेर सलमानलाई उत्तेजित पनि तुल्याएका थिए। यसपछि फोन फुटेको थियो। भूईमा असरल्ल छरिएको फोनको पार्टपूर्जा देखाएर सलमानले हाँस्दै भने, ‘अनब्रेकेवल फोन?’ सलमानले यति के भनेका थिए, सबै गलल्ल हाँसे।