संसदले पारित गर्‍यो प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक

नेपाल लाइभ | २०७४ भदौ १९ सोमबार | Monday, September 04, 2017 १६:०५:०० मा प्रकाशित

काठमाडौं- संसदले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक कानुन पारित गरेको छ।

सोमबार बसेको संसद बैठकले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन सम्बन्धी विधेयक बहुमतले पारित गरेको हो । संसदमा प्रस्तुत भएको डेढ महिनापछि सरकारले विधेयक पारित गरेको हो।

विधेयकमा थ्रेसहोल्डको व्यवस्था रहेको र साना दललाई प्रतिबन्ध लगाउने उद्देश्यले विधेयक ल्याएको भन्दै राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले आपत्ति व्यक्त गरेका थिए। 

विधेयकको दफावार छलफलका क्रममा उठेका प्रश्नमाथि जवाफ दिँदै गृहमन्त्री जनार्दन शर्माले राजनीतिक दलहरुको प्रतिनिधित्व सुदृढ र व्यवस्थित गर्न विधेयक ल्याएको बताए।

'प्रदेशसभा सदस्यको निर्वाचनमा राज्य व्यवस्था सन्दर्भमा व्यवस्था भएको थ्रेसहोल्ड साना दललाई प्रतिबन्ध गर्न होइन, व्यवस्थित गर्ने प्रतिनिधित्वलाई सुदृढ गर्न ल्याइएको हो,' मन्त्री शर्माले भने।

संसदले निर्वाचन कानुन पारित गरेसँगै निर्वाचन समयमै नहुने हो कि भन्ने शंका हटेको मन्त्री शर्माले बताए । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयकले समावेशी समानुपातिक सिद्धान्त अनुसार सबैको प्रतिनिधित्व सुनिश्चित गरेकाले कुनै शंका नगर्न समेत मन्त्री शर्माले आग्रह गरे।

गृहमन्त्री शर्माले गत साउन ५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन विधेयक संसदमा पेश गरेका थिए।

विधेयक पारित गरेर संसद बैठक भदौ २३ गते १ बजेसम्मका लागि स्थगित भएको छ।