काठमाडौं- आजै बिहान संसदको राज्य व्यवस्था समितिबा पारित भएको प्रतिनिधि सभा र प्रदेशसभा विधेयक व्यवस्थापिका संसदमा पेश भएको छ। दोस्रो पटक बसेको संसद वैठकमा समितिका सभापति दिलवहादुर घर्तीले उक्त विधेयक पेश गरेका हुन्।
विधेयकमाथि थप छलफल गर्न संसद वैठक आधा घन्टाका लागि स्थगित भएको छ। आधा घन्टापछि उक्त विधेयकमा दफावार छलफल गर्दै निणर्याथ पेश हुनेछ।
समितिले पारित गरेको विधेयकमा सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका व्यक्तिलाई उम्मेदबार हुन रोकेको छ। विधेयकको उक्त व्यवस्था अबको संसद वैठकले पारित गरेमा नेताहरु खुमबहादुर खड्का, गोविन्दराज जोशी, चिरन्जिवी वाग्ले र जेपी गुप्ताको राजनीतिक भविष्य समाप्त हुनेछ।
सार्वजनिक रुपमै भ्रष्टाचारीहरुको पक्षमा उभिएको भनि नेपाली कांग्रेसका सांसदहरुको आलोचना भएपछि उनीहरुले आफ्नो संशोधन फिर्ता लिएका थिए।
सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो। तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको ३ वर्षपछि चुनाव लड्न पाउनुपर्ने भन्दै संशोधन हालेका थिए। सरकारले निर्वाचनको मिति तोकेर निर्वाचन आयोगले आचारसंहिता जारी गरिसक्दा समेत विधेयक अड्किएको थियो।
कांग्रेस सांसदहरुको संशोधन फिर्ता भएसँगै राज्य व्यवस्थाले दुवै विधेयक पास गरेको हो।
सरकारले प्रदेश र प्रतिनिधिसभाको चुनाव मंसिर १० र २१ गरी दुई चरणमा गर्ने निर्णय गरिसकेको छ। तर, निर्वाचन सम्बन्धी कानुन नभएकाले चुनावको तयारी प्रभावित भएको भन्दै आयोगले ताकेता गर्दै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।