काठमाडौं– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले १४औं महाधिवेशनका लागि तत्काल स्थानीय तहदेखि महाधिवेशन गर्नुपर्ने प्रस्ताव केन्द्रीय समितिको बैठकमा राखेका छन्।
जारी केन्द्रीय समितिको बिहीबारको बैठकमा बोल्दै कोइरालाले अल्पकालीन कार्य समिति बनाउन बैठकमा प्रस्ताव राखेका छन्।
प्रादेशिक संरचना अनुसारको संगठन नबनेको जनाउँदै कोइरालाले तत्काल तल्लो तहका महाधिवेशन सुचारु गर्न प्रस्ताव राखेका हुन्। कोइरालाले संवैधानिक परिषदको निर्णय विरुद्ध सर्वोच्चमा मुद्धा दायर गर्ने पार्टी निर्णयलाई कार्यान्वयन किन गरिएन भन्दै नेतृत्वको जवाफ मागेका थिए।
उनले भने, ‘रिट किन दायर भएन? तपाईहरूले मात्रै जानेर हुँदैन। केन्द्रीय समितिलाई जानकारी दिनुस्।’
कोइरालाले केन्द्रीय सदस्यहरू बुथबाटै महाधिवेशन प्रतिनिधिमा छनोट हुनुपर्ने बताए। महासमिति बैठकमा गरिएको प्रतिवद्धताअनुसार केन्द्रीय समितिले विधान पारित गर्नुपर्ने बताए।
कोइरालाको धारणामा अर्का नेता गगन थापाले पनि सहमति जनाएका थिए। थापाले नेविसंघको वर्तमान कार्यसमितिलाई केही समय थपेर अधिवेशन गराउन दिनुपर्ने प्रस्ताव अघि सारेका थिए।
अन्य बोल्ने नेताहरूले केन्द्रीय समितिले पारित गरेको प्रस्तावलाई जिल्ला सभापतिहरूले भनेकै भरमा विधानलाई परिवर्तन गर्न नहुने बताएका थिए। जिल्ला सभापतिहरूले बुथबाटै नै केन्द्रीय नेताहरु महाधिवेशन प्रतिनिधि बन्नुपर्ने माग गरेका थिए।
नेविसंघको कार्यकाल सकिएकाले तदर्थ समिति बनाउन ढिलो गर्न नहुनेमा संस्थापन पक्षका नेताहरूले जोड दिएका थिए।
नेता चन्द्र भण्डारीले शीर्ष दुई नेताले छुट्टै केहिदिन छलफल गरेर भए पनि पार्टी एक ढिक्का बनाउन सुझाएका थिए।
आजको बैठकमा कोइराला,थापा ,भण्डारी सहित बैठकमा बलबहादुर केसी, डा नारायण खड्का, फरमूल्लाह मन्सुर, मानबहादुर विश्वकर्मा, शंकर भण्डारी,गुरुराज घिमिरे, कल्याणकुमार गुरुङ, रामकृष्ण यादव, हृदयराम थानी र बीरबहादुर बलायर बोलेका थिए।
अर्को बैठक सोमबार बस्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।