काठमाडौं — प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले ३८ जना प्राविधिक जनशक्ति माग गरेको छ। केन्द्रले विभिन्न १५ पदमा योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
केन्द्रले नेपाल सरकारका विभिन्न निकायका लागि सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भार गर्न प्राविधिक विज्ञ नियुक्त गर्न लागेको हो। असोज २९ गते प्रकाशित सूचनाअनुसार प्रमुख प्रविधि विज्ञदेखि टेक सपोर्टसम्मका पदमा जनशक्ति माग गरिएको छ।
माग गरिएका पदमध्ये प्रमुख प्रविधि विज्ञको मासिक पारिश्रमिक सबैभन्दा बढी दुई लाख ५० हजार रुपैयाँ तोकिएको छ। प्रोजेक्ट म्यानेजर र विभिन्न क्षेत्रका सेक्टर प्रमुखले मासिक दुई लाख रुपैयाँ पारिश्रमिक पाउनेछन्।
कुन पदमा कति जनशक्ति र कति तलब?


सबैभन्दा धेरै १५ जना मध्यम तहका डेभलपर माग गरिएको छ। त्यस्तै, सिस्टम एनालिस्टमा चार, सिनियर डेभलपर र जुनियर डेभलपरमा तीन–तीन जना आवश्यक पर्नेछ।
कस्तो योग्यता चाहिन्छ?
प्रमुख प्रविधि विज्ञ र प्रोजेक्ट म्यानेजर पदमा आवेदन दिन सूचना प्रविधिसँग सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरेको हुनुपर्नेछ। अन्य पदका लागि सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था सूचनामा उल्लेख छ।
आवेदन दिँदा उम्मेदवारले अद्यावधिक व्यक्तिगत विवरण (सीभी), नेपाली नागरिकताको प्रमाणपत्र, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र र सम्बन्धित कार्यअनुभवको प्रमाणपत्र पेस गर्नुपर्नेछ।
कात्तिक १८ गतेसम्म आवेदन दिन सकिने
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मिति असोज २९ गतेदेखि २१ दिनभित्र अर्थात् २०८३ कात्तिक १८ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन्।
आवेदन केन्द्रको आधिकारिक वेबसाइट www.sdoc.gov.np मार्फत दिन सकिनेछ।
उम्मेदवारको छनोट शैक्षिक योग्यता, कार्यअनुभव, प्रस्तुतीकरण वा प्रयोगात्मक परीक्षा तथा अन्तर्वार्ताका आधारमा गरिने केन्द्रले जनाएको छ।
नियुक्त हुने प्राविधिक जनशक्तिको सेवा सुविधा तथा करारसम्बन्धी व्यवस्था सफ्टवेयर विकास तथा सञ्चालन विकास समिति (गठन) आदेश, २०८३ बमोजिम हुने सूचनामा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।