काठमाडौं। देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार शुक्रबार देशभर आंशिक बदली रहेको छ भने बागमती प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा तथा देशका तराई भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका थोरै स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस्तै, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका तराई भू-भागमा आंशिक बदली रही बिहानपख हुस्सु लाग्ने सम्भावना छ।
राति कोशी प्रदेशका हिमाली तथा पहाडी भू-भागका एक-दुई स्थानमा तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।