काठमाडौं– वर्षा बाधक बनेपछि नेपाल २० औं एसियाली खेलकुदको क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । मंगलबार नागोयास्थित कोरोगी स्पोर्टस पार्कमा श्रीलंकासँग हुने क्वार्टरफाइनल खेल टससमेत नभई रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
खेल हुन नसकेको अवस्थामा ट्वान्टी–२० वरीयतामा माथि रहेको टोलीलाई विजेता मान्दै अर्को चरणमा पठाउने नियमअनुसार श्रीलंका सेमिफाइनलमा पुगेको छ । श्रीलंका ट्वान्टी–२० विश्व वरीयतामा नवौं र नेपाल १४ औं स्थानमा छन् ।
नागोयामा शनिबारदेखि निरन्तर वर्षा भइरहेको छ । यही कारण शनिबार नेपाल र जापानबीचको समूहचरणको खेल पनि पूरा हुन सकेको थिएन । सोमबार पाकिस्तान–हङकङ तथा भारत–पाकिस्तानबीचका खेल पनि एक बल नफाली रद्द भएका थिए ।
नेपालले प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले हराएको थियो । जापानविरुद्धको समूहचरणको अन्तिम खेल भने वर्षाका कारण १५ ओभरमा छोट्याइएको थियो । उक्त खेलमा नेपालले ४ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो । नेपालको इनिङ्स सकिएलगत्तै वर्षा सुरु भएपछि जापानले ब्याटिङ गर्न पाएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।