काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलोपटक ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) प्रविधि प्रयोगमा ल्याउने तयारी गरेको छ।
क्यानका सचिव पारस खड्काका अनुसार डीआरएसका लागि दुईवटा कम्पनीसँग प्राविधिक परीक्षण सम्पन्न भइसकेको छ।
खड्काले एक भिडिओमा डीआरएस प्रविधि प्रयोगका लागि अहिले आवश्यक स्रोतसाधन पर्याप्त नभए पनि परीक्षण गरिएको प्रविधि उपयुक्त र भरपर्दो देखिए यसै संस्करणदेखि डीआरएस लागू गर्न सकिने बताएका छन्।
‘हामीले दुईवटा कम्पनीसँग टेस्टिङ गरिसकेका छौं। टेक्निकल एस्पेक्टमा हामीले टेस्टिङ कम्प्लिट गरिसक्यौं। अब त्यसको एक्युरेसी कत्तिको छ भन्ने कुराको फाइनल कन्क्लुजन आउन बाँकी छ,’ उनले भने।
आयोजक क्यानले शनिबार सार्वजनिक गरेको खेल तालिकाअनुसार एनपीएलको आगामी संस्करणमा साबिक विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्सबीच २६ अक्टोबरमा खेल हुनेछ।
सुदूरपश्चिम पछिल्ला दुई संस्करणको उपविजेता हो। पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्सले सुदूरपश्चिमलाई ५ विकेटले पराजित गरेको थियो। दोस्रो संस्करणमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले हराउँदै पहिलोपटक उपाधि जितेको थियो।
यसअघिका दुवै संस्करणमा डीआरएस प्रविधि प्रयोग गरिएको थिएन।
उनका अनुसार परीक्षण गरिएका प्रविधिको शुद्धताबारे टोलीहरूसँग पनि प्रतिक्रिया लिइँदैछ। प्रतियोगिताको प्रत्यक्ष प्रसारण स्टार स्पोर्ट्ससहितका प्लेटफर्मबाट हुने भएकाले प्रयोग हुने डीआरएस प्रविधि प्रसारणको प्राविधिक मापदण्डअनुकूल हुनुपर्नेछ।
‘त्यसको एक्युरेसी के-कति हो भन्नेबारे हामी टिमहरूसँग फिडब्याक पनि लिइरहेका छौं। प्रोडक्सन फाइनल भएपछि कुन कम्पनीलाई राख्ने वा नराख्ने टुंगो लाग्नेछ,’ खड्काले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।