काठमाडौं– अफगानिस्तानविरुद्धको शृंखलाको तेस्रो तथा अन्तिम टी–२० खेलमा भारतका ओपनर अभिषेक शर्माले पहिलो बलमै छक्का प्रहार गर्दै आक्रामक सुरुआत गरे। त्यसपछि पनि उनको आक्रामक ब्याटिङ रोकिएन।
चौका र छक्काको वर्षा गर्दै उनले अफगानिस्तानका बलरमाथि दबाब बनाए।
अभिषेकले मात्र ३० बलमा आफ्नो करिअरको तेस्रो टी–२० शतक पूरा गरे। यससँगै उनले टेस्ट खेल्ने राष्ट्रका खेलाडीमध्ये टी–२० क्रिकेटमा सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान आफ्नो नाममा लेखाए।
यसअघि यो कीर्तिमान न्युजिल्यान्डका ओपनर फिन एलेनको नाममा थियो। उनले यही वर्ष दक्षिण अफ्रिकाविरुद्ध ३३ बलमा शतक पूरा गरेका थिए। जिम्बाब्वेका कप्तान सिकन्दर रजाले पनि ३३ बलमै शतक बनाएका छन्। तर‚ उनले आईसीसीको पूर्ण सदस्य नभएको गाम्बियाविरुद्ध उक्त उपलब्धि हासिल गरेका थिए।
आईसीसीका एसोसिएट राष्ट्रलाई समेत समेट्दा अभिषेकको शतक तेस्रो छिटो शतक हो। यस सूचीमा एस्टोनियाका साहिल चौहान शीर्ष स्थानमा छन्। उनले साइप्रसविरुद्ध २७ बलमा शतक बनाएका थिए। टर्कीका मोहम्मद फहादले बुल्गेरियाविरुद्ध २९ बलमा शतक पूरा गरेका थिए।
यद्यपि, ३० बलमै शतक पूरा गरे पनि अभिषेकले आफ्नो इनिङ्सलाई धेरै लामो बनाउन सकेनन्। शतक पूरा गरेपछि उनले थप चार बल मात्र खेलेर आउट भए।
उनले ३४ बलमा ९ चौका र ११ छक्काको मद्दतले १०८ रन बनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।