काठमाडौं–नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी प्रिमियर कपमा पहिलो हार व्यहोरेको छ।
मंगलबार समूह चरणको अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो।
हङकङले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २ सय ४६ रनमा अलआउट भयो।
नेपालका लागि इसान पाण्डेले सर्वाधिक ९० रन बनाए। उनले १ सय ६ बलमा ६ चौका र २ छक्का प्रहार गरे।
यस्तै, आशिफ शेखले ४४, दीपेन्द्र सिंह ऐरीले २५, करण केसीले २१ गुलशन झाले २० रन जोडे ।
बलिङतर्फ हङकङका अइजज खानले चार, यसिम मुर्ताजाले दुई तथा किन्चित देवांग सिंह, नुसरुल्ला राणा र अतिकुल इकबालले एक–एक विकेट लिए ।
त्यसअघि क्वालालाम्पुरस्थित बायुमास ओभल मैदानमा टस जितेर ब्याटिङ थालेको हङकङले ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन जोड्यो ।
उसका लागि बाबर हयातले शतकीय इनिङ्स खेले । उनी ११७ रनमा अविजित रहे । यस्तै, शाहिद वसिफले ४५, जिशन अलीले १५ रन जोड्दा एहसान खान ३५ रनमा नटआउट रहे ।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले चार तथा यस्तै, शेर मल्लले तीन विकेट लिए ।
पराजित भए पनि नेपालले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेको छ । आजको हारपछि पनि नेपाल समूह विजेता बनेको छ । समान ६–६ अंक भए पनि नेपाल रनरेटका आधारमा समूह विजेता बनेको हो ।
नेपालले यसअघि पहिलो खेलमा बहराइनविरुद्ध ७ विकेट, आयोजक मलेसियाविरुद्ध ६ विकेट तथा साउदी अरेबियाविरुद्ध ५ विकेटको जित निकालेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।