काठमाडौं– बाबर हयातको सानदार शतकसँगै हङकङले एसीसी मेन्स प्रिमियर कप २०२६ मा नेपालसामु २६२ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।
क्वालालम्पुरस्थित बायुमास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६१ रन बनाएको हो।
हङकङको इनिङ्सको मुख्य आकर्षण बाबर रहे। उनले १२६ बलमा ११७ रनको अविजित शतकीय इनिङ्स खेले। बाबरले आफ्नो इनिङ्समा ७ चौका र ७ छक्का प्रहार गरे। उनको साथमा एहसान खान ४६ बलमा ३५ रन बनाएर अविजित रहे।
यी दुईबीच आठौं विकेटका लागि ११५ बलमा १२८ रनको अविजित साझेदारी भयो।
हङकङले सुरुआत भने अपेक्षाअनुसार गर्न सकेन। अनसुमान रथ १३ र जिशान अली १५ रनमा आउट भए। कल्हान चाल्लु ९, किन्चित देवाङ शाह शून्य, यासिम मुर्तजा ५ र ऐजाज खान ९ रनमा पेभिलियन फर्किए। शाहिद वासिफले ४९ बलमा ४५ रन बनाए।
नेपालका कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए। उनले १० ओभरमा ४४ रन खर्चिए।
शेर मल्लले १० ओभरमा २७ रन दिएर ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।