काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका मिडिया तथा टिकेटिङ अधिकार ३३ करोड रुपैयाँभन्दा बढीमा बिक्री गरेको छ। आठ फ्रेन्चाइज टोली सहभागी हुने एनपीएलको तेस्रो संस्करण दसैंलगत्तै सुरु हुने तयारी छ।
क्यानका अनुसार बोलपत्र तथा खरिद प्रक्रियामार्फत अधिकारधनी छनोट गरिएको हो। जसअनुसार एनपीएलको विश्वव्यापी ओटीटी अधिकार नेट टिभी प्रालिले १८ करोड ४ लाख रुपैयाँमा प्राप्त गरेको छ। यो रकम अघिल्लो संस्करणको तुलनामा ११ करोड रुपैयाँभन्दा बढीले बढी हो।
नेपालभित्रको टेलिभिजन प्रसारण अधिकार भने हिमालय टेलिभिजन नेटवर्कले १४ करोड ६४ लाख रुपैयाँमा खरिद गरेको छ। गत संस्करणमा यही अधिकार करिब ३ करोड ५० लाख रुपैयाँमा बिक्री भएको थियो।
यस्तै, एनपीएलको टिकेटिङ अधिकार ईसेवा लिमिटेडले ८५ लाख रुपैयाँमा पाएको छ। सम्झौताअनुसार टिकट बिक्रीबाट प्राप्त हुने आम्दानीको ९५ प्रतिशत क्यानले र ५ प्रतिशत ईसेवाले प्राप्त गर्नेछन्।
यसपटक मिडिया अधिकारमा भएको उल्लेख्य मूल्यवृद्धिले एनपीएलको व्यावसायिक मूल्य बढ्दै गएको देखाएको क्यानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।