काठमाडौं– अर्जेन्टिनाका सुपरस्टार लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिने निर्णय गरेको घोषणा गरेका छन्। उनले सोमबार राति सामाजिक सञ्जालमार्फत भावुक सन्देश सार्वजनिक गर्दै राष्ट्रिय टोलीबाट आफ्नो यात्रा टुंग्याउने जानकारी दिएका हुन्।
मेस्सीले विश्वकप फाइनलपछि लामो समय सोचेर आफू यो निर्णयमा पुगेको बताएका छन्। उनले अर्जेन्टिनाको जर्सीका लागि सुरुदेखि नै आफ्नो सबैथोक दिएको र अब आफूसँग दिनका लागि थप केही बाँकी नरहेको उल्लेख गरेका छन्।
‘मैले राष्ट्रिय टोलीबाट संन्यास लिने निर्णय गरेको छु। यो निर्णयले मेरो आत्मालाई चोट पुर्याएको थियो र अहिले पनि दुखिरहेको छ। तर अब यही सही समय हो,’ मेस्सीले लेखेका छन्।
उनले पछिल्ला वर्षमा अर्जेन्टिनासँग सबै प्रमुख उपाधि जित्न सफल भए पनि राष्ट्रिय टोलीका लागि आफ्नो यात्रा सुरुदेखि नै संघर्षपूर्ण रहेको बताएका छन्। राष्ट्रिय टोलीमा रहन आफूलाई सधैं मन परेको र अर्जेन्टिनाको जर्सीलाई सधैं माया गरिरहने उनको भनाइ छ।
मेस्सीले राष्ट्रिय टोलीमा प्रतिभाशाली युवा खेलाडीहरूको आगमन भइरहेकाले उनीहरूलाई अवसर दिनुपर्ने बताएका छन्। साथै, अर्जेन्टिनाका समर्थकले दुई दशकसम्म दिएको मायाका लागि धन्यवाद दिँदै अब आफू टोलीको समर्थकका रूपमा बाहिरबाट साथ दिने बताएका छन्।
उनले आफ्नो परिवार, प्रशिक्षक, सहकर्मी खेलाडी तथा पदाधिकारीप्रति पनि आभार व्यक्त गरेका छन्। ‘म शान्ति र गर्वका साथ बिदा हुँदैछु,’ उनले भनेका छन्।
मेस्सीले उक्त सन्देश विश्वकप फाइनल भएको दुई दिनपछि जुलाई २१ मा लेखेको जानकारीसमेत दिएका छन्। उनले समय बित्दै जाँदा आफ्नो निर्णयप्रति झन् बढी विश्वस्त भएको बताएका छन्।
मेस्सीले अन्त्यमा ‘मलाई अर्जेन्टिनी बनाइदिनुभएकोमा भगवानलाई धन्यवाद। गो अर्जेन्टिना!’ भन्दै आफ्नो सन्देश टुंग्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।