काठमाडौं– भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा गरी ८९७ जना सम्पर्कविहीन रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जनाएको छ।
सम्पर्कविहीनमध्ये केहीको उद्धार भइसकेको छ भने केही अझै सुरुङभित्र फसेको जनाइएको छ। इप्पानका अनुसार रसुवाका विभिन्न आयोजनामा मात्रै ७३० जना सम्पर्कविहीन छन्। त्यसमध्ये माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा ५७६ जना सम्पर्कविहीन छन्। हालसम्म २५४ जनाको उद्धार भए पनि ३३२ जना सुरुङभित्र फसेको जनाइएको छ।
त्यस्तै, रसुवागढी जलविद्युत् आयोजनामा ९३ जना, लाङटाङ खोला आयोजनामा ४२ जना, चिलिमेमा ८ जना, मैलुङ खोलामा ७ जना र रसुवा–भोटेकोशी आयोजनामा ४ जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
लाङटाङ खोला आयोजनामा सम्पर्कविहीनमध्ये १८ जनाको उद्धार भए पनि २५ जना अझै सुरुङभित्र फसेको जनाइएको छ। मैलुङ खोला आयोजनामा सम्पर्कविहीन सातै जना सुरुङमा फसेको इप्पानले जनाएको छ।
नुवाकोटका विभिन्न जलविद्युत् आयोजनामा १६७ जना सम्पर्कविहीन रहेको इप्पानको विवरण छ। माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा १२२ जना सम्पर्कविहीन रहेकोमा ११ जनाको उद्धार भएको छ।
त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’ आयोजनामा ४२ जना, मिडल त्रिशूली गंगा आयोजनामा २ जना तथा त्रिशूली र देवीघाट आयोजनामा एक–एक जना सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।