काठमाडौं– लिभरपुलमा आन्दोनी इराओलाको प्रशिक्षणकालको सुरुआत अझै अपेक्षाअनुसार प्रभावशाली बन्न सकेको छैन।
प्रिमियर लिगमा लगातार दोस्रो सातासमेत लिभरपुल अन्तिम समयमा गोल गर्दै हारबाट जोगिएको छ। शनिबार एनफिल्डमा नटिङ्घम फरेस्टसँग २–२ गोलको बराबरी खेल्दा नयाँ खेलाडी भिक्टर मुनोजले ८२औं मिनेटमा गोल गर्दै लिभरपुललाई एक अंक दिलाए।
इराओलाको नेतृत्वमा लिभरपुलले गत साता खेलेको पहिलो लिग खेलमा पनि २–२ को बराबरी गरेको थियो। न्युक्यासलविरुद्धको उक्त खेलमा डोमिनिक सोबोस्लाईले इन्जुरी टाइममा पेनाल्टीमार्फत गोल गर्दै लिभरपुललाई हारबाट जोगाएका थिए।
इराओलाको कार्यकालको सुरुआती चरणमा टोलीले केही समस्या झेलिरहेको देखिन्छ। विशेषगरी लिभरपुलको रक्षापंक्ति कमजोर देखिएको छ। तर‚ पछाडि परे पनि खेलमा फर्किने टोलीको संघर्षशील भावना भने देखिएको छ।
नटिङ्घम फरेस्टविरुद्ध लिभरपुल दुईपटक पछाडि परेको थियो। पहिलो हाफमा डान एनडोयेले फरेस्टलाई अग्रता दिलाएका थिए। त्यसपछि ६०औं मिनेटमा एलेक्जान्डर इसाकले गोल गर्दै लिभरपुललाई १–१ को बराबरीमा ल्याए।
तर‚ मोर्गन गिब्स–ह्वाइटले पेनाल्टीमार्फत गोल गर्दै पाहुना टोलीलाई पुनः अग्रता दिलाए। लिभरपुल फेरि दबाबमा परेको अवस्थामा ८२औं मिनेटमा मुनोजले उत्कृष्ट गोल गरे।
फ्लोरियन विर्ट्जको थ्रु–बल पछ्याउँदै अघि बढेका मुनोजले शक्तिशाली प्रहार गरे। उनको प्रहार क्रसबारमा लाग्दै जाली चुमेपछि लिभरपुलले खेल २–२ को बराबरीमा ल्यायो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।