काठमाडौं– म्यानचेस्टर सिटीले प्रिमियर लिगमा क्रिस्टल प्यालेसमाथि ४–१ को सानदार जित हात पारेको छ। शुक्रबार भएको खेलमा रियान चेरकी र एर्लिङ हालान्डले दुई–दुई गोल गरेपछि सिटीले लगातार दोस्रो जित दर्ता गरेको हो।
दुई खेलबाट ६ अंक जोडेको सिटी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ। उता, क्रिस्टल प्यालेस भने लगातार दोस्रो खेलमा पराजित हुँदै अंकविहीन छ।
खेलको १७औं मिनेटमा हालान्डले उत्कृष्ट हेडरमार्फत गोल गर्दै सिटीलाई अग्रता दिलाए। दोस्रो हाफ सुरु भएको केही समयमै चेरकीले सिटीको अग्रता दोब्बर बनाए।
तर, त्यसको केही समयमै क्रिस्टल प्यालेस खेलमा फर्कने संकेत देखायो। येरेमी पिनोको उत्कृष्ट फ्रिकिक गोलपोस्टमा लागेर फर्किएपनि सिटीका गोलकिपर जियानलुइगी डोनारुम्माको शरीरमा ठोक्किँदै गोलमा परिणत भयो।
प्यालेसको गोलपछि सिटीलाई दबाबमा पार्ने सम्भावना देखिए पनि चेरकीले त्यसको दुई मिनेटमै अर्को गोल गर्दै टोलीको अग्रता पुनः दुई गोलमा पुर्याए।
खेल सकिन ६ मिनेट बाँकी रहँदा हालान्डले उत्कृष्ट प्रहार गर्दै व्यक्तिगत दोस्रो गोल गरे। यससँगै सिटीले ४–१ को जित सुनिश्चित गर्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।