काठमाडौं– नेपालको विज्ञापन तथा सञ्चार क्षेत्रमा प्रतिष्ठित मानिने ‘कृति अवार्ड्स २०८३’ को १३औँ संस्करण आयोजना हुने भएको छ। यस वर्षको कार्यक्रम रेडबुल इनर्जी ड्रिंक्सको मुख्य प्रायोजनमा ‘रेडबुल १३औँ कृति अवार्ड्स २०८३’ नामकरण गरिएको छ।
विज्ञापन संघ नेपाल (आन)को आयोजनामा आगामी महिना अवार्ड समारोह आयोजना गर्न लागिएको हो। कार्यक्रममा नेपाल मिडिया सोसाइटी, मिडिया एलायन्स नेपाल, ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल (बान), एकोर्याब तथा ब्रोडकास्टर्स फोरम सह–आयोजकका रूपमा सहभागी छन्।
त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल सरकारको विज्ञापन बोर्डले कार्यक्रमलाई इन्डोर्समेन्ट तथा सम्बन्धन प्रदान गरेका छन्।
‘कृति अवार्ड्स’ले नेपाली विज्ञापन, मार्केटिङ तथा सञ्चार क्षेत्रमा उत्कृष्ट योगदान पुर्याउने विज्ञापन एजेन्सी, सिर्जनाकर्ता तथा ब्रान्डलाई सम्मान गर्दै आएको छ। १३औँ संस्करणसम्म आइपुग्दा अवार्ड नेपाली विज्ञापन तथा मार्केटिङ क्षेत्रमा सिर्जनशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित भएको आयोजकले जनाएको छ।
यस वर्ष टेलिभिजन, छापा, रेडियो, डिजिटल, प्रिन्ट, सामाजिक सञ्जाल तथा एकीकृत अभियानलगायत क्षेत्रमा ३१ विधामा ५५ वटा अवार्ड प्रदान गरिनेछ। आयोजकका अनुसार यसपटक डिजिटल, इभेन्ट्स र इन्टिग्रेटेड गरी तीन नयाँ क्षेत्र थपिनुका साथै २४ नयाँ विधा समावेश गरिएको छ।
अवार्डको मूल्यांकनलाई पारदर्शी र निष्पक्ष बनाउन काठमाडौं विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा. डा. विजय केसीको अध्यक्षतामा जुरी गठन गरिएको छ। जुरीमा वरिष्ठ सञ्चारकर्मी भारती सिलवाल गिरी, वरिष्ठ मार्केटिङ विज्ञ रवीन्द्रमान श्रेष्ठसहित क्षेत्रगत विशेषज्ञहरू छन्। जुरीले विषयगत मूल्यांकनकर्ताको मनोनयन गरी उत्कृष्ट सिर्जनाको छनोट गर्नेछ।
आनका अनुसार अवार्डका लागि मनोनयन दर्ता प्रक्रिया खुला भइसकेको छ। इच्छुक विज्ञापन एजेन्सी तथा ब्रान्डहरूले २०८० वैशाख १ गतेदेखि २०८३ असार मसान्तसम्म उत्पादन तथा प्रदर्शन भएका सिर्जनात्मक कार्यहरू प्रतिस्पर्धाका लागि दर्ता गराउन सक्नेछन्।
अवार्ड आयोजनाबारे जानकारी दिँदै आनका अध्यक्ष सुदीप थापाले यसपटक धेरै विधालाई समेटेर सिर्जनात्मकतालाई थप प्रोत्साहन गर्ने उद्देश्य राखिएको बताए।
“कृति अवार्ड्सले सुरुवातदेखि नै विज्ञापन क्षेत्रको सिर्जनात्मकता र मौलिकतालाई प्रवर्द्धन गर्दै आएको छ। यस पटक यसलाई थप विधामा विस्तार गरिएको छ। यसले नेपाली विज्ञापन बजारलाई विश्व बजारमा चिनाउन सहयोग गर्नेछ,” उनले भने।
आयोजकले कृति अवार्ड्सले नेपाली विज्ञापन उद्योगको विकाससँगै अर्थतन्त्रलाई चलायमान बनाउन र विज्ञापन बजारलाई थप विस्तार गर्न योगदान पुर्याउने अपेक्षा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।